उद्धार, राहत र पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन ओलीको निर्देशन

सहयात्रा टिभी

काठमाडौँ । भदौ १४ , नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन पार्टीका सबै संयन्त्रलाई परिचालन गर्न निर्देशन दिएका छन् ।

आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले रसुवाको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी बुझाएको प्रतिवेदन ग्रहण गर्दै अध्यक्ष ओलीले उक्त निर्देशन दिएका हुन् ।

अध्यक्ष ओलीले पार्टीले खाद्यान्न, कपडा र अन्य राहत सामग्री सङ्कलन गरी प्रभावित क्षेत्रमा पठाउने कार्य जारी राखेको जानकारी पनि दिए । पार्टीले गरिरहेको मानवीय कार्य र राहत अभियानलाई ओझेलमा पारेर बदनाम गर्ने नियतले कतिपय तत्वहरू सक्रिय रहेको उनको आरोप थियो ।

प्राकृतिक विपत्तिको अवस्थाबारे चर्चा गर्दै अध्यक्ष ओलीले रसुवा र सिन्धुपाल्चोकको बाढी वर्षाका कारण मात्र नभई ‘ग्लेसियर’ वा हिमताल विष्फोट भएका कारण आएको हुनसक्ने प्रारम्भिक अनुमान उनले गरे ।

अध्यक्ष ओलीले उद्धार र राहत कार्यमा समन्वयको अभाव देखिएको भन्दै सरकारको कार्यशैलीप्रति पनि आलोचना पनि गरे ।

केही मन्त्रीहरूले पूर्वतयारी र व्यवस्थापनविना नै सुरक्षित स्थानमा रहेका मानिसहरूलाई अन्यत्र सार्दा उनीहरू थप अलपत्र परेको र पीडितहरूमा आक्रोश बढेको उनको आरोप थियो ।

नुवाकोट र रसुवाका पार्टी पदाधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूका परिवारका सदस्य अझै बेपत्ता रहेको पीडादायी अवस्था सुनाउँदै उहाँले सबैलाई धैर्यताका साथ उद्धारमा लाग्न आग्रह गरे ।

 

 

प्रकाशित : 30 August, 2026

प्रतिक्रिया दिनुहोस्