उद्धार, राहत र पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन ओलीको निर्देशन
सहयात्रा टिभी
काठमाडौँ । भदौ १४ , नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन पार्टीका सबै संयन्त्रलाई परिचालन गर्न निर्देशन दिएका छन् ।
आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले रसुवाको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी बुझाएको प्रतिवेदन ग्रहण गर्दै अध्यक्ष ओलीले उक्त निर्देशन दिएका हुन् ।
अध्यक्ष ओलीले पार्टीले खाद्यान्न, कपडा र अन्य राहत सामग्री सङ्कलन गरी प्रभावित क्षेत्रमा पठाउने कार्य जारी राखेको जानकारी पनि दिए । पार्टीले गरिरहेको मानवीय कार्य र राहत अभियानलाई ओझेलमा पारेर बदनाम गर्ने नियतले कतिपय तत्वहरू सक्रिय रहेको उनको आरोप थियो ।
प्राकृतिक विपत्तिको अवस्थाबारे चर्चा गर्दै अध्यक्ष ओलीले रसुवा र सिन्धुपाल्चोकको बाढी वर्षाका कारण मात्र नभई ‘ग्लेसियर’ वा हिमताल विष्फोट भएका कारण आएको हुनसक्ने प्रारम्भिक अनुमान उनले गरे ।
अध्यक्ष ओलीले उद्धार र राहत कार्यमा समन्वयको अभाव देखिएको भन्दै सरकारको कार्यशैलीप्रति पनि आलोचना पनि गरे ।
केही मन्त्रीहरूले पूर्वतयारी र व्यवस्थापनविना नै सुरक्षित स्थानमा रहेका मानिसहरूलाई अन्यत्र सार्दा उनीहरू थप अलपत्र परेको र पीडितहरूमा आक्रोश बढेको उनको आरोप थियो ।
नुवाकोट र रसुवाका पार्टी पदाधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूका परिवारका सदस्य अझै बेपत्ता रहेको पीडादायी अवस्था सुनाउँदै उहाँले सबैलाई धैर्यताका साथ उद्धारमा लाग्न आग्रह गरे ।

