नुवाकोटको बेत्रावतीस्थित एकै घरबाट २४ शव निकालियो

सहयात्रा टिभी

काठमाडौँ । भदौ १६, गत भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा ठूलो मानवीय क्षति भएको पुष्टि भएको छ। स्थानीय उत्तरगया मिनी मार्ट सञ्चालनमा रहेको एउटै घरबाट प्रहरीले २४ जनाको शव फेला पारेको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले उक्त घरबाट २४ वटा शव निकालिएको जानकारी दिएका हुन्। बाढी प्रभावित अन्य क्षेत्रमा अझै खोजी कार्य जारी रहेको उनले बताए। “हाम्रो क्षमताले भ्याएसम्म खोजी गरेर एउटै घरबाट २४ वटा शव निकालेका छौँ, अरू सम्भावित ठाउँमा अझै खोज्न बाँकी नै छ,” एसपी रेग्मीले भने।

हालसम्म फेला परेका कुनै पनि शवको सनाखत हुन सकेको छैन। प्रहरीका अनुसार अहिले शवहरूको मुचुल्का उठाउने र पहिचान गर्ने कार्य भइरहेको छ।

घटनास्थलको प्रकृति मुचुल्काको काम सकिएपछि सबै शवलाई पोस्टमार्टमका लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ।

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले बेत्रावती क्षेत्रमा पसेर जलमग्न बनाउँदा उक्त घरमा रहेका मानिसहरूले ज्यान गुमाएका हुन्। यस घटनाले बाढीको विनाशकारी रूप र त्यसले पुर्‍याएको अकल्पनीय क्षतिलाई उजागर गरेको छ।

प्रकाशित : 1 September, 2026

प्रतिक्रिया दिनुहोस्