वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास आपूर्ति, तीन दिनमा भित्रियो झन्डै ८८ हजार सिलिन्डर

सहयात्रा टिभी

काठमाडौँ । भदौ २१, पृथ्वीराजमार्गको कृष्णभिर खण्डमा पहिरो खसेर सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी (एलपीजी) ग्यासको अभाव हुन नदिन नेपाल आयल निगमले वैकल्पिक माध्यमबाट आपूर्ति व्यवस्था मिलाएको छ। निगमले पछिल्लो तीन दिनको अवधिमा मात्रै वैकल्पिक प्रक्रियामार्फत झन्डै ८८ हजार सिलिन्डर ग्यास राजधानी भित्र्याएको हो।

काठमाडौंका ग्यास उद्योगहरूका सिलिन्डरलाई तराई तथा आसपासका जिल्लामा रहेका उद्योगहरूमा रिफिल (पुनर्भरण) गराई वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याएर बिक्री वितरण भइरहेको निगमले जनाएको छ। यसका लागि बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका १६ वटा ग्यास उद्योगहरू प्रयोग गरिएको छ।

निगमको तथ्याङ्कअनुसार भदौ १८ देखि २० गतेसम्मको अवधिमा कुल ८७ हजार ८७७ सिलिन्डर ग्यास काठमाडौं ल्याइएको छ। जसअन्तर्गत भदौ १८ गते २४ हजार ४९४, १९ गते ३४ हजार १३४ र २० गते २९ हजार २४९ सिलिन्डर ग्यास भित्रिएको हो।

यस अवधिमा श्री, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा, श्रीकृष्ण, श्रीमाया, लोकप्रिय, एभरेस्ट, सुगम, नेपाल, एचपी, एसटीसी, सिद्धार्थ, हिमाल, सिताश्री र नमस्ते ब्रान्डका सिलिन्डरहरू आपूर्ति गरिएको छ।

कृष्णभिर खण्डको सडक पूर्ण रूपमा मर्मत भई नियमित आवागमन सञ्चालन नभएसम्म उपभोक्तालाई अभाव हुन नदिन यही वैकल्पिक प्रक्रियाबाटै ग्यास आपूर्ति र बिक्री वितरणलाई निरन्तरता दिइने निगमले स्पष्ट पारेको छ।

प्रकाशित : 6 September, 2026

प्रतिक्रिया दिनुहोस्