कृष्णभिरबाट सडक सञ्चालन गर्ने प्रयास जारी
सहयात्रा टिभी
काठमाडौँ । भदौ २१, सडक विभागले धादिङको कृष्णभिरमा पुनस् बल्झिएको पहिरोको समस्या समाधानका लागि दीर्घकालीन योजना अघि सारेको बताएको छ ।
विभागका महानिर्देशक डा. विजय जैसीले आइतबार स्थलगत अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कृष्णभीरको भौगर्भिक अवस्था र भावी योजनाबारे जानकारी दिएका हुन् ।
महानिर्देशक डा. जैसीकाअनुसार हालैको वर्षा र बाढीले कृष्णभीरको तल्लो भाग कटान गरेपछि पहिरोको समस्या पुनस् देखिएको हो । यातायात सञ्चालनका लागि विभागले रातदिन काम गरिरहेको उनको दाबी छ ।
कृष्णभिरको स्थायी समाधानका लागि विभागले दुई वटा मुख्य विकल्पमा अध्ययन गरिरहेको महानिर्देशक जैसीले बताए । उनका अनुसार पहिलो विकल्पमा त्यहाँ सुरुङमार्ग (टनेल) निर्माण गर्ने र दोस्रो विकल्पमा त्रिशूली नदीको अर्को किनारबाट वैकल्पिक सडक विस्तारका लागि दुईवटा पुल बनाउने विषयमा गृहकार्य भइरहेको छ ।
त्रिशूली करिडोर र अन्य क्षेत्रमा क्षति भएका करिव २९ वटा पुलहरूको मर्मत सम्भार र पुनर्निर्माणलाई विभागले प्राथमिकतामा राखेको उनको भनाइ छ ।

