कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

सहयात्रा टिभी

काठमाडौँ । भदौ २८, आज देशभर साधारणतया बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै, देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ | देशको पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

पछिल्लो २४ घण्टामा कास्की र लजमुङमा धेरै भारी वर्षा भएको थियो । महाशाखाको रेकर्ड अनुसार कास्कीको लुम्ले क्षेत्रको मापन केन्द्रमा २४ घण्टामा १२५.४ मिलिमिटर वर्षा मापन भएको छ । लमजुङको फलेनी मापन केन्द्रमा १०९. २ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै धादिङ र गोरखाको सीमा क्षेत्रमा रहेको आरुघाट मापन केन्द्रमा ८७.८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

२४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ भने २०० मिलिमिटरभन्दा पनि धेरै वर्षा मापन हुनुलाई अति भारी वर्षा भनिन्छ । यस्तै, ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी र १० देखि ५० मिलिमिटर वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ ।

प्रकाशित : 13 September, 2026

प्रतिक्रिया दिनुहोस्