अस्कर अवार्डका लागि नेपालबाट ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ छनोट
सहयात्रा टिभी
काठमाडौँ । भदौ २८, विश्व प्रतिष्ठित ‘एकेडेमी अवार्ड्स’ (द अस्कर) को ९९औँ संस्करणको ‘अन्तर्राष्ट्रिय फिचर चलचित्र’ विधामा नेपालको तर्फबाट कथानक चलचित्र ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने भएको छ। ‘द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस’ द्वारा सन् २०२७ मा अमेरिकामा आयोजना गरिने उक्त अवार्डका लागि यो चलचित्र आधिकारिक रूपमा सिफारिस भएको हो।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै चलचित्र छनोटबारे औपचारिक जानकारी दिएको छ। समितिका अनुसार यस वर्ष नेपालबाट अस्करको प्रतिस्पर्धामा जानका लागि ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ गरी दुई वटा कथानक चलचित्रहरूको आवेदन परेको थियो।
आवेदन परेका दुवै चलचित्रहरूको प्राविधिक पक्ष, कथावाचनको शैली, पात्रहरूको भावनात्मक गहिराइ तथा समग्र कलात्मक शिल्पको सूक्ष्म अध्ययन गरिएको समितिले जनाएको छ। एकेडेमीले तोकेको कडा मापदण्ड अनुरूप निष्पक्ष मूल्याङ्कन गर्दा ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ उत्कृष्ट ठहरिएपछि यसलाई नेपालको आधिकारिक प्रतिनिधिको रूपमा सिफारिस गरिएको अध्यक्ष लक्ष्मीनाथ शर्माले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
वरिष्ठ चलचित्रकर्मी लक्ष्मीनाथ शर्माको अध्यक्षतामा गठित नेपालको छनोट समितिमा लोकेन्द्र पराजुली ‘कपिल’, गौतम धिमाल, जीवन कुमार पराजुली र बिकेश सुवेदी सदस्यका रूपमा रहेका छन्।

