बाढी प्रभावितलाई अस्थायी आवास बनाउन नुवाकोटमा ८ स्थान प्रस्ताव
सहयात्रा टिभी
काठमाडौँ । भदौ ३०, बाढी प्रभावित नागरिकलाई अस्थायी बासस्थान बनाउन स्थानीय सरकारले केन्द्र सरकार समक्ष ८ स्थान प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री बालेन शाहले सोमबार बाढी प्रभावित क्षेत्रका स्थानीय सरकारका प्रमुखसमक्ष छलफल गरेका थिए । सो क्रममा नुवाकोटको विदुर नगरपालिकाले बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणको विस्तृत योजना समेटिएको प्रस्ताव प्रधानमन्त्रीसमक्ष पेश गरेको छ ।
मेयर राजन श्रेष्ठले सो कार्ययोजना प्रधानमन्त्री समक्ष पेश गरेका हुन् । श्रेष्ठको सचिवालयका अनुसार प्रधानमन्त्रीले प्रस्ताव स्वीकार गर्दै संघीय सरकारले सोही अनुसार रणनीति बनाउने बताएका छन् ।
विदुर नगरपालिकाले अस्थायी बासस्थानका लागि विदुर १० अन्तर्गत वेत्रावती क्षेत्रका लागि सुहाँरा डाँडा प्रस्ताव गरेको छ । विदुर ७ अन्तर्गत तुप्चेरसोलेरअक्करेरछिपीटार क्षेत्रका लागि भित्रिनीटार र नेपाल विद्युत प्राधिकरणको जग्गा प्रस्ताव गरिएको छ ।
विदुर १० भैसे क्षेत्रका लागि कान्नले सेरोफेरो प्रस्ताव गरिएको छ । विदुर १० को एक नम्बर पुल क्षेत्रका लागि गर्खुटार वडा कार्यालय क्षेत्रमा प्रस्ताव गरिएको छ । विदुर ९ अन्तर्गत सिलटट्याङ्की र बिजुराका लागि राहुलटारमा अस्थायी बासस्थान बनाउन प्रस्ताव गरिएको छ ।
विदुर १ अन्तर्गत त्रिशूलीरढुंगे क्षेत्रका लागि नेपाल विद्युत् प्राधिकरणको जग्गा कोलनी प्रस्ताव गरिएको छ । विदुर ४ अन्तर्गत सिमचौर बस्तीलाई विदुर २ को धापखेत एरियामा प्रस्ताव गरिएको छ ।
विदुर ५ देविघाटलाई चन्द्रज्योती मावि र आयुर्वेद भवनमा अस्थायी बासस्थान बनाउने गरी प्रस्ताव गरिएको छ । नगरपालिकका अनुसार यस क्षेत्रमा आँगपुटार, गेर्खुटार मिलन चौतारा, गुम्बाडाँडा, बान्द्रे, बट्टार र हसिनटारमा तत्काल कटान नियन्त्रण गर्नुपर्ने आवश्यकता देखिएको छ ।

