यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना
सहयात्रा टिभी
काठमाडौँ । भदौ ३१, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।

महाशाखाका अनुसार अहिले कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बादल लाग्नुका साथै बाँकी पहाडी भूभागमा आंशिक बादल लागेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशको एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज देशभर साधारणतया बादल लाग्नेछ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । मधेसलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशको हिमाली, पहाडी र तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशको पहाडी तथा तराई भभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
