त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ वटा शव फेला

सहयात्रा टिभी

काठमाडौँ । असोज २, रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको टनेलभित्रबाट ६ वटा शव निकालिएको छ।

भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका क्रममा ती शव फेला परेको नेपाली सेनाले जानकारी दिएको छ।

आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट ३ टनेलभित्र ढलान गर्नको लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेको अवस्थामा ६ वटा शव फेला परेका हुन्।

ग्रिन्डर, ग्यास कटर र रोटरी रेस्क्युको प्रयोग गरी ती शव बाहिर निकालिएको छ। टनेलभित्र हिलोमा छोपिएको अवस्थामा अन्य शव जस्तो आकृति देखिएकोले उक्त इलाकामा खोजी कार्य भइरहेको पनि सेनाले जनाएको छ।

बाढीपछि यस आयोजनाबाट सबैभन्दा धेरै मानिसहरू सम्पर्कविहीन छन्।

बिहीबारसम्मको तथ्यांकअनुसार यस आयोजनाबाट बाढीपछि ४९२ जना सम्पर्कविहीन छन् भने ९३६ जना सम्पर्कमा आइसकेका छन्।

यस आयोजनामा कुल १ हजार ४३३ जनशक्ति कार्यरत थिए। कोरियाली लगानीमा यो जलविद्युत् परियोजना निर्माण भइरहेको छ।

प्रकाशित : 18 September, 2026

प्रतिक्रिया दिनुहोस्