अस्ट्रेलियाको ठूलो गाँजा फार्म अब पूर्ण रूपमा चिनियाँ स्वामित्वमा
सहयात्रा टिभी
काठमाडौँ । असोज १५, अस्ट्रेलियाको तास्मानियामा रहेको देशकै ठूलोमध्येको एक औषधीय गाँजा उत्पादक कम्पनी तास्मानियन बोटानिक्स अब लगभग पूर्ण रूपमा चिनियाँ स्वामित्वमा गएको छ।

होबार्टको उत्तरस्थित पोन्टभिलमा रहेको यस कम्पनीको माउ संस्था (होल्डिङ कम्पनी) पिजेनको बाँकी सेयर चिनियाँ स्वामित्वको योङ्जी हेल्थले करिब ३ करोड १० लाख अस्ट्रेलियन डलरमा खरिद गरेसँगै स्वामित्व परिवर्तन भएको हो।
चीनको गुइझोउमा आधारित योङ्जी प्रिन्टिङको सहायक कम्पनी योङ्जी हेल्थ यसअघि नै तास्मानियन बोटानिक्सको ठूलो हिस्सेदार थियो। पछिल्लो खरिदस सम्झौतासँगै कम्पनीमा उसको अप्रत्यक्ष स्वामित्व बढेर करिब ९६.५ प्रतिशत पुगेको छ।
तास्मानियन बोटानिक्सले लामो समयदेखि औषधीय गाँजा उत्पादन, प्रशोधन र प्याकेजिङ गर्दै आएको छ। कम्पनीको पोन्टभिलस्थित केन्द्रमा १५० भन्दा बढी कर्मचारी कार्यरत छन्। त्यहाँ अत्याधुनिक ठूलो हरितगृह (ग्रिनहाउस) सँगै करिब २.५ हेक्टर क्षेत्रफलमा बाहिरी खेतीसमेत हुँदै आएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्रेग नाइटले स्वामित्व परिवर्तन भए पनि कर्मचारी र ग्राहकका लागि तत्काल कुनै ठूलो फेरबदल नहुने स्पष्ट पारेका छन्। रोजगारीको सुरक्षामा कुनै समस्या नरहेको र आगामी दिनमा कम्पनीलाई अझ विस्तार गर्ने योजना रहेको उनले बताए।
