दाङका दीपक गिरीद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
सहयात्रा टिभी
काठमाडौँ । असोज १८, नेपाली कांग्रेसका पूर्वमन्त्री तथा पूर्वकेन्द्रीय सदस्य दीपक गिरीले पार्टीको उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नम्बर ३ बाट ९०७ मत प्राप्त गरी लोकप्रिय मतमा पहिलो हुँदै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित गिरीले उपसभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै गिरीले अनुभवी नेतृत्वको मार्गदर्शनसँगै युवाशक्तिको ऊर्जा र सहभागितालाई साथमा लिएर पार्टीलाई नयाँ गति दिन आफूले भूमिका निर्वाह गर्न चाहेको बताएका छन्। अनुभव र युवाबीचको सहकार्यबाट संगठनलाई थप बलियो, एकताबद्ध र जनमुखी बनाउने उनको प्रतिबद्धता छ।
लामो राजनीतिक यात्राका क्रममा नेपाली कांग्रेसका विभिन्न चुनौती, आन्दोलन तथा संगठन निर्माणका अभियानमा निरन्तर सहभागी हुँदै आएको उल्लेख गर्दै गिरीले पार्टीको निष्ठावान कार्यकर्ताका रूपमा हासिल गरेको अनुभव र योगदानलाई आगामी नेतृत्वमा उपयोग गर्ने बताएका छन्। उनले नेपाली कांग्रेसको संगठनलाई अझ सुदृढ, एकताबद्ध र जनमुखी बनाउँदै पार्टीको आगामी यात्रामा जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
