गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
सहयात्रा टिभी
काठमाडौँ । असोज २१, फिनल्याण्ड सरकारले वातावरणीय चिन्ता व्यक्त गर्दै गुगलका दुई प्रस्तावित डेटा सेन्टरको निर्माण कार्य रोक्न निर्देशन दिएको छ ।

डेटा सेन्टर निर्माणको क्रममा ३०० हेक्टरभन्दा बढी जंगल फँडानी गरिएको भन्दै फिनल्यान्डका अधिकारीहरूले काम रोक्न निर्देशन दिएका हुन् ।
गुगलले डेटा सेन्टरका लागि फिनल्यान्डमा १३ अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो । गुगलका अनुसार यो युरोपमा कम्पनीले गरेको अहिलेसम्मकै ठूलो एकल लगानी थियो । तर एक महिनाभन्दा कम समयमै त्यहाँका अधिकारीहरूले निर्माण कार्य रोक्न निर्देशन दिएको बीबीसीले जनाएको छ ।
फिनल्यान्डको सुपरभाइजरी एजेन्सी (एलभीभी) का अनुसार काजानी र मुहोसमा प्रस्तावित डेटा सेन्टरका लागि वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य भए पनि कम्तीमा एउटा साइटमा त्यसबिनै निर्माणपूर्वका काम अघि बढाइएको थियो ।
एजेन्सीले वातावरणमा ‘महत्वपूर्ण परिवर्तन’ ल्याउने गतिविधि आगामी २३ अक्टोबरसम्म रोक्न आदेश दिएको समाचारमा उल्लेख छ ।
फिनल्यान्डको सुपरभाइजरी एजेन्सीका वातावरण प्रमुख टोम्मी मुइलुका अनुसार ती क्षेत्रमा रूख कटान, माथिल्लो माटो हटाउने, साइटसम्म पुग्ने सडक तथा भण्डारण क्षेत्र निर्माण र पानी निकासका लागि बनाइएका नालीमा परिवर्तन लगायतका काम भएका थिए ।
गुगलको डेटा सेन्टर परियोजनाको जिम्मेवारी लिएको कम्पनी टुइके फिनल्यान्डलाई आगामी १४ अक्टोबरसम्म घटनाबारे स्पष्टीकरण दिन र अब कसरी अघि बढ्ने भन्ने योजना पेस गर्न भनिएको छ । आदेश पालना नगरे कार्यान्वयनसम्बन्धी कारबाही अघि बढाउन सकिने चेतावनी पनि एजेन्सीले दिएको छ ।
फिनल्यान्ड एसोसिएसन फर नेचर कन्जर्भेसनकी अध्यक्ष हान्ना हाल्मेनपाले यसअघि नै संरक्षण गर्नुपर्ने प्राकृतिक क्षेत्रमा समेत रूख कटान भएको बताएकी थिइन् । वातावरण संरक्षण समूहले वातावरणीय आवश्यकताबारे परीक्षण पूरा नभएसम्म निर्माण कार्य रोक्न माग गर्दै आएको थियो ।
