क्यानबेरामा उच्चस्तरीय भेटघाट गर्दै परराष्ट्रमन्त्री खनाल
सहयात्रा टिभी
काठमाडौँ । असोज २३, अस्ट्रेलिया भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले राजधानी क्यानबेरामा उच्चस्तरीय भेटघाट गर्नुका साथै स्थानीय नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन् ।

भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावास र प्रस्तावित दूतावास भवन निर्माणस्थलको अवलोकन गरे । त्यसलगत्तै उनले अस्ट्रेलियामा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरे । छलफलमा सहभागीहरूले नेपाली समुदायका चासो, समस्या र सुझाव मन्त्रीसमक्ष राखेका थिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) शाखाका तर्फबाट उपाध्यक्ष ललित मल्ल र प्रवक्ता अशोक बस्नेतले मन्त्री खनाललाई ज्ञापनपत्र हस्तान्तरण गरे ।
ज्ञापनपत्रमा अस्ट्रेलियामा रहेका नेपाली नागरिकको संरक्षण, आपत्कालीन सहायता कोषको स्थापना, गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन तथा नेपाल–अस्ट्रेलियाबीचको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने विषय समेटिएका छन् ।
यसैबीच, मन्त्री खनालले शुक्रबार अस्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनसँग शिष्टाचार भेट गरे । भेटका क्रममा उनले भोटेकोशी क्षेत्रमा आएको अकल्पनीय बाढीबाट प्रभावित नेपाललाई सहयोग गरेकोमा अस्ट्रेलिया सरकार र त्यहाँका जनताप्रति हार्दिक धन्यवाद व्यक्त गरे ।
अनलाइनखबरसँग कुराकानी गर्दै मन्त्री खनालले आफ्नो अस्ट्रेलिया भ्रमण फलदायी रहेको बताए । उनले अस्ट्रेलियामा रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँगको भेटघाटमा प्राप्त सुझावलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
क्यानबेराका निर्धारित कार्यक्रम सम्पन्न गरेपछि मन्त्री खनाल आज मेलबर्न प्रस्थान गरेका छन् । मेलबर्नका कार्यक्रम सकेर उनी शनिबार स्वदेश फर्कने कार्यतालिका छ ।
