चाडपर्व लक्षित देशभर ५० हजार बढी प्रहरी परिचालन
सहयात्रा टिभी
काठमाडौँ । असोज २७, नेपाल प्रहरीले देशभर ५० हजार बढी प्रहरी परिचालन गरेर चाडपर्व विशेष सुरक्षा योजना लागु गरेको छ ।

दशैं, तिहार, छठलगायत पर्वलाई लक्षित गरी देशभर चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले बताए ।
चाडपर्वमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, जनधनको सुरक्षा, महिला, बालबालिका, अपाङ्ग एवं जेष्ठ नागरिकको सुरक्षा र अधिकारको सम्मान गर्न नेपाल प्रहरीले सुरक्षा योजना अवलम्बन गरेको प्रवक्ता काफ्ले बताउँछन् ।
नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन योजनाबद्ध रूपमा प्रहरी परिचालन, अनुगमन तथा सुरक्षा मापदण्ड समेतलाई लक्षित गरी सुरक्षा योजना अवलम्बन गरिएको छ ।
सो अवधिमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा हुनसक्ने दंगा, लुटपाट वा अन्य अप्रिय घटनाहरू, एक स्थानमा घटेको घटनाले अर्को स्थानमा समेत प्रभाव पारी शान्ति सुरक्षामा खलल पुग्न सक्ने जस्ता सुरक्षा चुनौतीहरूप्रति विशेष रूपमा सचेत भई सुरक्षा योजना अवलम्बन गरिएको दाबी प्रहरीको छ ।
चाडपर्वमा हुनसक्ने ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार, अवैध हुण्डी कारोबार लगायतका आपराधिक गतिविधिहरू बढ्न सक्ने विश्लेषण गरी सोही अनुसारको सुरक्षा रणनीति बनाइएको छ ।
खुला सीमानाकाहरूबाट अवैध हातहतियार, पटका, विस्फोटक पदार्थ, लागुऔषध लगायतको ओसारपसार तथा तस्करी नियन्त्रणमा समेत विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले बताएको छ ।
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीलगायत ७ वटै प्रदेश प्रहरी कार्यालयहरूबाट ५० हजार ४५८ जनशक्ति परिचालन हुने प्रवक्ता काफ्ले बताउँछन् ।
जसमध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीअन्तर्गत ७ हजार ६६८, कोशी प्रदेशअन्तर्गत ८ हजार १३३, मधेश प्रदेशअन्तर्गत ७ हजार २३०, बागमती प्रदेशअन्तर्गत ४ हजार ४९९, गण्डकी प्रदेशअन्तर्गत ५ हजार १८८, लुम्बिनी प्रदेशअन्तर्गत ७ हजार ९२१, कर्णाली प्रदेशअन्तर्गत ५ हजार ३१४ र सुदूरपश्चिम प्रदेशअन्तर्गत ४ हजार ५०५ जनशक्ति परिचालन हुनेछन् ।
साथै, सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउन नागरिक–प्रहरी सहकार्यलाई विशेष प्राथमिकतामा राखेर स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र सरोकारवाला निकायसँग निरन्तर सहकार्य तथा समन्वय गरिने छ ।
बैंक तथा वित्तीय संस्था, बसपार्क तथा सार्वजनिक यातायात केन्द्र, विमानस्थल, धार्मिक स्थल, पर्यटकीय स्थल, मनोरञ्जन स्थल, मुख्य सडक तथा चोक, शहरका प्रवेशरनिकास नाका, सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रहरूलाई विशेष प्राथमिकतामा राखी प्रहरी परिचालन गरिने बताइएको छ ।
