बनेपामा ग्यास बुलेटको ठक्करबाट बालकको मृत्यु, आमाबुबा घाइते
सहयात्रा टिभी
काठमाडौँ । असोज ३१, काभ्रेको बनेपा नगरपालिका–१३ भैँसेपाटीमा आज बिहान भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा उनका बुबा र आमा घाइते भएका छन् ।

मृत्यु हुनेमा खोटाङको सन्धिखर्क गाउँपालिका–६ घर भएका चन्द्र बुढाथोकीका ९ वर्षीय छोरा जुवास रहेका छन् ।
प्रहरीका अनुसार काठमाडौंबाट बनेपातर्फ गइरहेको भारतीय नम्बर प्लेटको ग्यास बुलेटले सोही दिशामा गुडिरहेको बा.प्र. ०२–०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा सख्त घाइते भएका बालक जुवासलाई उद्धार गरी तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा परी चन्द्र बुढाथोकी र उनकी श्रीमती घाइते भएका छन् । उनीहरू दुवै जनाको हाल बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
ठक्कर दिने ग्यास बुलेट र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
