राष्ट्रिय फुटबलर विमल घर्तीमगरद्वारा संन्यासको घोषणा
सहयात्रा टिभी
काठमाडौँ । असोज ३१, नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले आफ्नो फुटबल करियर टुंग्याएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक भावुक सन्देश लेख्दै उनले लामो समयदेखिको खेल यात्रामा औपचारिक पूर्णविराम लगाएका हुन्।

बुटवलको मैदानबाट सुरु भएको आफ्नो यात्रा काठमाडौँ हुँदै राष्ट्रिय टोलीसम्म पुग्दा निकै लामो र संघर्षपूर्ण रहेको विमलले उल्लेख गरेका छन्। देशका लागि मैदान उत्रिँदा आफूले सम्पूर्ण ऊर्जा र समर्पण दिएको स्मरण गर्दै उनले लेखेका छन्, ‘कठिन थियो। मैले देशका लागि जति खेलेँ, मनैदेखि खेलेँ। आफ्नो सबैथोक मैले फुटबललाई नै दिएँ।’
फुटबलप्रेमी र शुभचिन्तकहरूको निरन्तर माया र साथकै कारण आफू यो स्थानसम्म आइपुग्न सम्भव भएको भन्दै उनले सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्। करियर टुंग्याउने विन्दुमा पुग्दा मन भारी भएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘मलाई र फुटबललाई माया गर्नुहुने सम्पूर्ण शुभचिन्तकले जुन माया र साथ दिनुभयो, त्यो सबै फुटबलकै कारण सम्भव भएको हो। आज यो निर्णय लिँदा म निकै भावुक भएको छु। सबैलाई एकमुष्ट धन्यवाद दिँदै मैले आफ्नो फुटबल यात्रा यहीँसम्म टुंग्याएको छु।’
नेपाली राष्ट्रिय टोलीबाट लामो समय खेलेका २८ वर्षीय विमल केही समयअघि अस्ट्रेलिया पलायन भएका थिए। अस्ट्रेलिया बसाइँ सरेको केही समयपछि उनले फुटबल जीवनबाट औपचारिक बिदा लिने निर्णय सार्वजनिक गरेका हुन्।
