सुनकोशीमा जिप खस्यो : तीन जनाको मृत्यु, तीन बेपत्ता
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १, सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा यात्रुवाहक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन् भने तीन जना नदीमा बेपत्ता भएका छन्।

काठमाडौंबाट यात्रु लिएर खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार बिहान करिब २:३० बजे अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल सुनकोशी नदीमा खसेको हो।
दुर्घटनामा परी ज्यान गुमाउने तीनै जना महिला हुन्। उनीहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
जिप नदीमा खस्दा घाइते भएका चार जनालाई उद्धार गरी सुरुमा उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर पुर्याइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल लगिएको छ।
घाइते हुनेहरूमा जिप चालक ओखलढुंगाका २९ वर्षीय आशिष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक छन्।
चालकका अनुसार जिपमा सवार अन्य तीन जना दुर्घटनापछि नदीमा बेपत्ता छन्। बेपत्ता यात्रुहरूको खोजी तथा उद्धारका लागि घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको छ।
इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको नेतृत्वमा सात जनाको प्रहरी टोली तथा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको नेतृत्वमा गोताखोरसहितको टोलीले सुनकोशी नदीमा खोजी कार्य तीव्र पारेको छ।
दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
