क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २, क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी बेस) मा भएको भीषण आगलागीमा परी चार जना सैनिकको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।

आइतबार ओटावाबाट देशवासीका नाममा सम्बोधन गर्दै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले यस घटनालाई शान्तिकालमा क्यानेडियन सेनाले भोगेका ठूला त्रासदीमध्ये एक भएको बताएका छन्।
अल्बर्टास्थित क्यानेडियन फोर्सेस बेस वेनराइटमा शनिबार स्थानीय समय अनुसार अपरान्ह ४ बजेतिर आगलागी सुरु भएको थियो। अत्यधिक चाप रहने सो सैन्य तालिम केन्द्रमा लागेको आगो नियन्त्रणमा आइसकेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। हालसम्मको अनुसन्धानमा कुनै ‘आतंकवादी गतिविधि’ को संलग्नता नदेखिएको जनाइएको छ।
मृत्यु हुनेहरूमा सर्जेन्ट मोर्गन वोङ, प्राइभेट सन फारेल, प्राइभेट एडन गुल्डिङ र प्राइभेट हेडन लिक्केमार्क रहेका छन्। घाइते भएका ३९ जनाको अस्पतालमा उपचार भइरहेको छ भने तीमध्ये कम्तीमा १९ जनाको अवस्था चिन्ताजनक रहेको अल्बर्टाकी प्रिमियर डेनियल स्मिथले जानकारी दिएकी छन्।
अधिकारीहरूका अनुसार सो क्षेत्रमा पैदल सेनाका जवानहरूले गोलाबारुदसहितको प्रत्यक्ष लडाकु तालिम (लाइभ एम्युनिसन ट्रेनिङ) गरिरहेका थिए। तालिमस्थलभन्दा करिब १ किलोमिटर टाढा घाँसे मैदानबाट सुरु भएको आगो तीव्र हावाका कारण तीव्र गतिमा फैलिएर प्रशासनिक तथा तालिम क्षेत्रतर्फ बढेको थियो।
