आज विजयादशमी : टीकाको उत्तम साइत १० : २६ बजे
सहयात्रा टिभी
काठमाडौं । कात्तिक ४, नेपालीहरुको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमी मनाइँदैछ । आजको दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दशैं मनाइँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेट निर्धारण गरेको छ। समितिका अनुसार देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।
दक्षिणतिर फर्किएर पितृकर्म मात्रै गरिने भएकाले दशैंको टीका लगाउँदा दक्षिण फर्किने चलन छैन । कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा पनि टीका लगाइदिने र थाप्ने दिशा तय गर्छन् । तर त्यति विस्तृत रुपमा जाने चलन छैन ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैंको टीका लगाइमाग्ने व्यक्ति पश्चिम र लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्ने जनाएको छ ।
