देशभर बिहानै टीकाको चटारो, त्रिपुराकोटमा भने देवीको पूजापछि मात्रै टीका

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ४, देशभर दशैंको टीका लगाउने शुभसाइतको चटारो भइरहँदा डोल्पाको त्रिपुराकोटमा भने बाला त्रिपुरासुन्दरी मन्दिरको पूजा सम्पन्न हुने प्रतीक्षा गरिन्छ। यहाँ पञ्चाङ्गको साइतभन्दा देवीको पूजाविधि पूरा हुनुलाई टीका लगाउने मुख्य आधार मानिन्छ।

परापूर्वकालदेखि चल्दै आएको परम्पराअनुसार दशमीको बिहानै स्थानीयले घरबाट टीका र जमरा लिएर मन्दिर पुग्छन्। देवीलाई टीका–जमरा चढाएर पूजाआजामा सहभागी हुन्छन्। मन्दिरको धार्मिक विधि पूरा गरी देवीलाई मूल मन्दिरमा भित्र्याएपछि मात्रै घरघरमा टीकाटालो सुरु हुने पुजारी भानुचन्द्र उपाध्यायले बताए।

‘नेपालभर टीकाको एउटै साइत भए पनि त्रिपुराकोटमा भने आफ्नै साइतमा लगाइन्छ,’ उनले भने, ‘मन्दिरको पूजाविधि साँझतिर मात्रै सकिने भएकाले त्यसपछि टीका सुरु हुन्छ।’

यहाँको दशैं देवीप्रतिको आस्था र पुर्खादेखि चल्दै आएको धार्मिक मान्यतासँग जोडिएको छ। पूजाविधि पूरा नगरी टीका लगाउनु हुँदैन भन्ने विश्वासका कारण स्थानीयले वर्षौँदेखि यो परम्परा निरन्तरता दिँदै आएका छन्।

मन्दिरमा टीका सुरु भएपछि परिवारका सदस्य र आफन्त भेला भएर ज्येष्ठ सदस्यबाट आशीर्वाद लिने गर्छन्। साँझदेखि सुरु हुने टीकाटालो कतिपय घरमा मध्यरातसम्म चल्छ।

त्रिपुराकोटको यो चलन डोल्पाका अन्य क्षेत्रभन्दा फरक छ। दुनै, लिकु, पहाडा, रह, काइगाउँ, कालिका, जुफाल र माझफाललगायतका क्षेत्रमा भने ज्योतिष तथा पञ्चाङ्गले निर्धारण गरेको शुभसाइतमै दशैंको टीका लगाउने गरिन्छ।

प्रकाशित : 21 October, 2026

प्रतिक्रिया दिनुहोस्