बुधबारदेखि शनिबारसम्म नेपालमा वर्षा र हिमपातको सम्भावना
सहयात्रा टिभी
काठमाडौं । कात्तिक ८, मौसम पूर्वानुमान महाशाखाले आगामी बुधबारदेखि शनिबारसम्म नेपालका धेरै भूभागमा वर्षा र हिमपात हुने भन्दै सचेत रहन आग्रह गरेको छ।

बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकास भइरहेको र यसको प्रभाव नेपालमा पनि पर्ने भएकाले कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने मौसमविद् रोजन लामिछानेले बताए।
‘बंगालको खाडीमा न्यून चापिय प्रणालीको विकास भइरहेको छ,’ मौसमविद् लामिछानेले भने, ‘आगामी बुधबारदेखि त्यो चक्रवातमा परिणत हुने देखिन्छ।’
उनले बुधबारदेखि नेपालको कोसी, बागमती र गण्डकी प्रदेशमा त्यसको प्रभाव पर्नसक्ने बताए। ‘बिहीबारदेखि त्यसको प्रभाव अझ बढ्छ। शनिबार दिउँसोसम्म त्यसले नेपालका विभिन्न भूभागमा वर्षा र हिमपात गराउने सम्भावना छ।’
चारदिन चक्रवातको प्रभाव रहने भएकाले नेपालको पहाडी र हिमाली क्षेत्रमा पैदलयात्री र पर्यटकहरुले सावधानी अपनाउनु पर्ने सुझाव लामिछानले दिएका छन्।
‘यी चार दिन धानबाली भित्र्याउने तयारीमा रहेका किसान पनि सचेत बन्नुपर्ने देखिन्छ,’ लामिछानेले भने, ‘यी चार दिन धान नकाट्न र १५ गतेपछि मात्रै धान काट्ने योजना बनाउनु होला।’
उनले मौसम फेरबदल भइरहेको भएकाले महाशाखाबाट आवश्यक सूचना लिएर मात्रै काम र भ्रमणका योजना बनाउन पनि आग्रह गरे।
तर, आइतबार, सोमबार र मंगलबार भने देशभर नै वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
