कस्तो रहनेछ आजको मौसम ?

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ११, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव रहने जनाएको छ।

हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लागेको छ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना छ। देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्कासम्म वर्षा र हिमपातको सम्भावना रहेको छ।

राति देशभर साधारणतया बादल लागेर कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा र हिमपात हुने अनुमान छ। साथै बागमती र गण्डकीका हिमाली भू-भागका थोरै स्थान तथा कोशी र बागमतीका पहाडी, मधेस र कोशीको तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

भोलि बिहीबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी लगायत कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी र बागमतीका हिमाली भू-भागका केही स्थान र बाँकी हिमाली भू-भागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।

कोशी, मधेस, बागमतीका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। बिहीबार राति कोशी, मधेस, बागमती र गण्डकी लगायत कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागमा अधिकांश बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णालीका केही स्थान तथा सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

कोशी र बागमतीका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा र हिमपात तथा लुम्बिनीका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, शुक्रबार देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा धेरै भारी वर्षा र हिमपातको समेत सम्भावना छ।

यसैगरी, शनिबार कोशी, मधेस, बागमती र गण्डकी लगायत कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागमा अधिकांश बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुनेछ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकीका एक-दुई स्थानमा धेरै भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले कात्तिक १२ गतेदेखि १४ गतेसम्म भारी वर्षा, हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। धानबाली भित्र्याउने लगायतका कृषि कार्य बिहीबारअघि नै सक्न र उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्यटकलाई नजान वा सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।

यस अवधिमा चिसो बढ्न सक्ने, पहिरो जान सक्ने तथा सडक एवं हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अपिल गरेको छ।

प्रकाशित : 28 October, 2026

प्रतिक्रिया दिनुहोस्