बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १५, बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् ।

आइतबार बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रतिभट्टी २५ टन क्षमताको) मा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको हो ।

प्रहरीका अनुसार आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका छन् ।

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान सवा ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीिले जनाएको छ ।

बिहान पौने ९ बजे घाइते शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ।

अन्य घाइतेहरूको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट भएको अन्य क्षतिको विवरण खुल्न बाँकी रहेको छ।

प्रकाशित : 1 November, 2026

प्रतिक्रिया दिनुहोस्