हिमपातका कारण डोल्पामा फसेका ६ भारतीयको उद्धारमा ढिलाइ

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १५, भारी हिमपातका कारण उपल्लो डोल्पामा फसेका ६ जना भारतीय पर्यटकको उद्धारमा ढिलाइ भएको छ।

उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भए पनि नेपाली सेनाको हेलिकोप्टरमा प्राविधिक समस्या आएपछि ढिलाइ भएको हो।

डोल्पामा रहेका २४४ जना पर्यटकमध्ये ६ जना भारतीय पर्यटक भारी हिमपातका कारण शे-फोक्सुन्डो गाउँपालिका-८ स्थित दानिगढ क्षेत्रमा फसेका छन्। दुई महिला र चार पुरुषसहित छ जना पर्यटकको उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले पहल गरिरहेको छ।

सुर्खेतस्थित नेपाली सेनाको हवाई बेसमा रहेको हेलिकोप्टरमा समस्या आएपछि तत्काल उद्धार गर्न कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बताइन्। अहिले अन्य हेलिकोप्टरको खोजी भइरहेको उनले जानकारी दिइन्।

उद्धारको पर्खाइमा रहेका भारतीय पर्यटकमा मौमिता हल्दार, पियाली कोले, जजल त्रिवेद कुमार, आदित्य सिंह, दिपलीना बिस्वास र राजेश दे रहेका छन्। जिल्ला प्रशासन कार्यालयलाई कात्तिक १४ गते उनीहरू हिमपातका कारण फसेको जानकारी प्राप्त भएको थियो।

उनीहरूको कात्तिक १५ गते हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी गरिएको थियो। तर उद्धारका लागि आवश्यक हेलिकोप्टरमा प्राविधिक समस्या आएपछि वैकल्पिक हेलिकोप्टरको खोजी गर्नुपर्ने अवस्था आएको हो।

प्रकाशित : 1 November, 2026

प्रतिक्रिया दिनुहोस्