भन्सारमा उल्लेख भएभन्दा बढी माछा लोड गरिएको ट्रक नियन्त्रणमा

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १९, पर्सा प्रहरीले भन्सार कागजातमा उल्लेख भएभन्दा बढी माछा लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले बुधबार राति करिब ११ बजे वीरगञ्ज महानगरपालिका–२५ स्थित आईसीपी सडकखण्डबाट उक्त ट्रक नियन्त्रणमा लिएको हो ।

प्रदेश २–०३–००१ ख ७०७४ नम्बरको मालवाहक ट्रक जाँच गर्दा भन्सार प्रज्ञापनपत्रमा ९६ क्यारेट माछा उल्लेख भएको तर ट्रकमा ४४ क्यारेट बढी माछा लोड गरिएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रकसहित चालक वीरगञ्ज महानगरपालिका–२१ निवासी २३ वर्षीय रविकुमार साहलाई नियन्त्रणमा लिएको थियो ।

बरामद माछाको कुल मूल्य ३२ लाख ११ हजार ३९२ रुपैयाँ मूल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बिहीबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 5 November, 2026

प्रतिक्रिया दिनुहोस्