स्थानीय चुनावको तयारी गर्न एमालेले डाक्यो राष्ट्रिय भेला
सहयात्रा टिभी
काठमाडौं । कात्तिक ३०, नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने जनाएको छ ।

पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा एमालेले लिएको छ ।
सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिँदै भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहसम्मका नेता तथा जनप्रतिनिधिको सहभागिता रहने जानकारी दिए ।
उनका अनुसार पार्टीको इतिहासमा पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संघीय संसद्देखि स्थानीय तहसम्मका जनप्रतिनिधि एउटै मञ्चमा सहभागी हुनेगरी राष्ट्रिय भेलाको आयोजना गरिएको छ । सहभागी संख्याका आधारमा महाधिवेशनपछिको ठूलो कार्यक्रमका रूपमा भेलालाई लिइएको बताए ।
भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।
भेलामा केन्द्रिय कमिटी, केन्द्रिय निकाय, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, प्रवासी नेपाली मञ्चका प्रतिनिधि र पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष सहभागी हुनेछन् ।
त्यसैगरी संघीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, पालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र जनसंगठनका प्रतिनिधिको पनि सहभागिता रहनेछ ।
राष्ट्रिय भेलामा सहभागी सबैबाट स्थानीय निर्वाचन केन्द्रित सुझाव लिखित रूपमा संकलन गरिने एमालेले जनाएको छ । यसबाट आगामी निर्वाचनको रणनीति र पार्टीको संगठनात्मक तयारीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । भेलाको व्यवस्थापनका लागि १९० जना स्वयंसेवक परिचालन गरिनेछ ।
एमालेले पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीको धारणा स्पष्ट पार्ने, संगठनलाई निर्वाचन केन्द्रित बनाउने र नेतृत्वदेखि स्थानीय तहसम्म राजनीतिक बुझाइमा समानता कायम गर्ने उद्देश्यसहित राष्ट्रिय भेलालाई महत्वपूर्ण रूपमा लिएको छ ।
