जेलमा रहेका इमरान खानले तत्काल उपचारको गरे माग

सहयात्रा टिभी

काठमाडौं । मंसिर १ जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले यातनाका कारण आफू जीवित फर्कन नसक्ने अवस्था रहेको भन्दै तत्काल उपचारको माग गरेका छन् ।

७४ वर्षीय खानले आफ्नो वकिल सलमान सफदरमार्फत सार्वजनिक गरेको पत्रमा आफ्नो र पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै तत्काल उपचारको व्यवस्था गर्न माग गरेका हुन् ।

इस्लामाबादका अधिकारीहरूले भने खानको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको दाबी गरेका छन् । उनलाई हरेक साता चिकित्सकले स्वास्थ्य परीक्षण गर्दै आएको अधिकारीहरूको भनाइ छ ।

१०० भन्दा बढी मुद्दा खेपिरहेका खान सन् २०२३ अगस्टदेखि जेलमा छन् । उनकी पत्नी बुशरा बीबी पनि गत वर्षदेखि जेलमा छिन् । खानले आफू र पत्नीविरुद्ध लगाइएका भ्रष्टाचार तथा सरकारी उपहार बिक्रीलगायतका आरोप राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको दाबी गर्दै आएका छन् ।

पछिल्लो एक वर्षयता खानको स्वास्थ्य अवस्थाबारे चिन्ता बढ्दै गएको छ । उनको परिवारले जेल प्रशासनले समयमै उपचारको व्यवस्था नगर्दा दाहिने आँखाको अधिकांश दृष्टि गुमेको दाबी गरेको छ ।

आफ्नो पत्रमा खानले चिकित्सकहरूले आफूलाई मस्तिष्कमा रक्तस्राव र हृदयाघातको उच्च जोखिम रहेको जानकारी दिएको उल्लेख गरेका छन् । उनको मुटुमा समेत क्षति पुगिसकेको उनले बताएका छन् ।

खानले पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्थाप्रति पनि चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार बुशराको गत अप्रिलमा आँखाको रेटिनामा क्षति पुगेको थियो र गोप्य रूपमा शल्यक्रिया गरिएको थियो । थप शल्यक्रिया नगरिए उनले दृष्टि गुमाउन सक्ने खानको आशंका छ ।

‘मैले अनगिन्ती मुद्दामा असम्भवजस्ता कानुनी लडाइँ लडेको छु र अझै हार मानेको छैन । तर यो प्रणालीले मलाई न्याय दिन छाडेको छ,’ खानले पत्रमा लेखेका छन् ।

यसैबीच, खानले आफूलाई दिनको २२ घण्टासम्म एकान्त कारावासमा राखिएको दाबी गरेका छन् । यस्तो अवस्थामा परिवारका सदस्यसँग भेटघाट गर्न, पुस्तक पढ्न र टेलिभिजन हेर्नसमेत नदिइएको उनको भनाइ छ । यसले आफ्नो मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको उनले पत्रमा उल्लेख गरेका छन् ।

पछिल्लो एक वर्षमा आफूले वकिलहरूसँग जम्मा चार पटक मात्रै भेट्न पाएको पनि खानले दाबी गरेका छन् ।

प्रकाशित : 17 November, 2026

प्रतिक्रिया दिनुहोस्