रुसमा सैन्य मालवाहक विमान दुर्घटना, सबै १९ जनाको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । मङ्सिर २, रुसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य मालवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु भएको छ ।

रुसको रक्षा मन्त्रालयका अनुसार नियमित उडानमा रहेको एन–१२ विमान सुनसान क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार प्रारम्भिक अनुसन्धानमा विमान दुर्घटनाको सम्भावित कारण प्राविधिक खराबी रहेको बताइएको छ ।
घटनाबारे रुसी उड्डयन अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् । स्थानीय गभर्नर इल्या सेरेदियुकले विमान यागुनोभो गाउँनजिकै दुर्घटनाग्रस्त भएको जानकारी दिएका छन् । उनका अनुसार घटनास्थलमा लागेको आगो उद्धार टोलीले तत्काल नियन्त्रणमा लिएको थियो । प्रहरीले दुर्घटनास्थल आसपासको क्षेत्रलाई घेराबन्दी गरेको छ ।
