हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ‘सञ्जीवनी’ परियोजना
सहयात्रा टिभी
काठमाडौं । मंसिर ९, सरकारले हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना सञ्चालन गर्ने भएको छ।

जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रका हिमनदी तिब्र गतिमा पग्लिँदै गएर हिमतालहरू अस्थिर बन्दै गएपछि नेपालले उच्च जोखिममा रहेका चार हिमतालको जोखिम न्यूनीकरण गर्न करिव ७ अर्ब रुपैयाँ बराबरको ‘सञ्जीवनी’ परियोजना कार्यान्वयनमा ल्याउन लागेको हो।
हिमताल विस्फोटबाट आउने बाढी ९ग्लेसियल लेक आउटब्रस्ट फ्लड–ग्लोफ० तथा जलवायु परिवर्तनजन्य बाढीबाट जोखिममा रहेका समुदाय, उनीहरूको जीविकोपार्जन र सम्पत्तिको संरक्षण गर्ने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालले जानकारी दिए।
परियोजनाले चार वटा हिमतालको सतह घटाउने लक्ष्य राखेको छ। सोलुखुम्बुका होङ्गु–२ र लुम्दिङ छोल, सङ्खुवासभाको तल्लो बरुण तथा मनाङको ठुलागी हिमतालको सतह घटाउने परियोजनाको लक्ष्य रहेको बरालले बताए।
उनकाअनुसार परियोजनाले हिमतालको पानीको सतह घटाउने, निगरानी तथा पूर्वसूचना प्रणाली विकास गर्ने र तल्लो तटीय क्षेत्रमा संरक्षणका कार्यक्रम सञ्चालन गर्नेछ।
प्रारम्भिक डिजाइनअनुसार होङ्गु–२ को पानीको सतह एक मिटर र बाँकी तीन हिमतालको तीन–तीन मिटर घटाउने उनले जानकारी दिए। पछिल्लो समय हिमालयको क्रायोस्फियर तिब्र गतिमा परिवर्तन भइरहेकोले हिमताल विस्फोट तथा हिउँपहिरोजस्ता विपद्को जोखिम बढाएको उनले बताए। उनका अनुसार अब हिमतालको जोखिम न्यूनीकरणमा सरकारले तत्कालै काम गर्न आवश्यक छ।
उनले भने, ‘हिन्दुकुश हिमालयमा नै मात्रै कुरा गर्दापनि प्रत्येक वर्ष ग्लेसियर्सहरू घट्दै गइरहेको छ। अघिल्लो दशकभन्दा २०११ देखि २०२० को दशकमा ६५ प्रतिशत फास्टर रेटमा यो रिट्रिट भइरहेको विभिन्न अध्ययनहरूले देखाएको छ।
नेपालको हामीले ठुलागी लेकलाई मात्रै हेर्ने हो भने पनि ३० मिटर्स पर इयरको दरले ग्लेसियर रिट्रिट भइरहेको छ। अन्य ग्लेसियर्स लेक्सहरूमा पनि लेकको साइज बढ्ने र ग्लेसियर्सहरू रिट्रिट हुने गरिरहेको छ।’
सन् १९८७ देखि २०१७ सम्मको ३० वर्षमा हिमनदीजन्य तालहरूको समग्र क्षेत्रफलमा करिब २३ प्रतिशतले कमी आएको तथ्यांक प्रस्तुत गर्दै उनले हिमनदीको पछाडि हट्ने क्रम र हिमतालको विस्तारले थप जोखिम बढाएको बताए।
पछिल्ला छ दशकमा नेपाल र आसपासका क्षेत्रमा ३० भन्दा बढी हिमताल विस्फोटका घटना अभिलेख भएका छन्। नेपालभित्र करिब १५ वटा, तिब्बततर्फ ११ वटा र अन्य क्षेत्रमा समेत यस्ता घटना भएको उनले जानकारी दिए।
उनले परियोजनाबाट प्राप्त अनुभवलाई मध्य एशिया, ल्याटिन अमेरिका र अन्य हिमनदीजन्य जोखिम भएका क्षेत्रमा समेत विस्तार गर्न सकिने बताए। परियोजनालाई तत्काल कार्यान्वयनमा लैजान जोड दिए। परियोजनाको पहिलो किस्ताको रकम यूएनडीपीमा निकासा भइसकेको उनले जानकारी दिए।
