टेकुस्थित बायो ग्यास प्लान्टको उत्पादन परीक्षण सुरु
सहयात्रा टिभी
काठमाडौं । मंसिर १०, काठमाडौंको टेकुस्थित बायो ग्यास प्लान्टको उत्पादन परीक्षण सुरु भएको छ ।

‘काठमाडौं जलवायु कार्य सप्ताह २०२६’ को असर पारेर आज प्लान्टको उत्पादन परीक्षण गरिएको हो ।
ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले प्लान्टको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
परीक्षण पश्चात उक्त प्लान्ट सञ्चालनका लागि काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
टेकुमा रहेको फोहोर व्यवस्थापन केन्द्रबाट निस्कने जैविक फोहोरलाई प्रशोधन गर्नु, जैविक फोहोरबाट बायोग्यास तथा मिथेन ग्यास उत्पादन गर्नु, फोहोरलाई ऊर्जामा रूपान्तरण गरी वातावरण प्रदूषण कम गर्नु, स्वच्छ, हरित र वातावरणमैत्री काठमाडौं निर्माणमा सहयोग पुर्याउने उद्देश्य सहित प्लान्टमा सञ्चालनमा ल्याइएको हो ।
लामो समयदेखि बन्द रहेको प्लान्ट पुनः सञ्चालनमा ल्याउन वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग काठमाडौं महानगरले गत साउन दोस्रो सातातिर सम्झौता गरेको थियो ।
यो प्लान्ट महानगरपालिकाको एकीकृत दिगो फोहर व्यवस्थापन परियोजनाअन्तर्गत २०७२ सालमा निर्माण सुरु गरेर २०७५ सालदेखि सञ्चालन थालिएको थियो ।
प्लान्ट सञ्चालन गर्दा दैनिक तीन मेट्रिकटन जैविक फोहरबाट १४ किलोवाट बिजुली, ३०० किलो जैविक मल, १३ हजार ५०० लिटर पानी उत्पादन गर्ने लक्ष्य राखिएको थियो । यसका लागि महानगरपालिका र युरोपियन युनियनले एक करोड ८२ लाख रुपियाँ लगानी गरेका थिए ।
