आज दोस्रो दिन पनि बालकृष्ण खाणको तर्फबाट बहस जारी

काठमाडौं । जेठ ३१, नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणको तर्फबाट आज दोस्रो दिन पनि बहस जारी रहेको छ ।
खाणको पक्षका वकिलले मंगलबारदेखि बहस सुरु गरेकामा आज दोस्रो दिन पनि जारी रहेको हो । पहिलो दिन खाणको तर्फबाट १० जना वकिलले बहस गरेकामा आज दोस्रो दिन वरिष्ठ अधिवक्त रमण श्रेष्ठसहित खम्म खाती, गोपीकृष्ण घिमिरे र सुरेन्द्र महतोले बहस गर्दैछन् ।
खाणको तर्फबाट बहस गर्ने वकिलहरु धेरै भएकाले दुई दिन लागेको हो ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा सरकारी वकिलको बहसपछि प्रतिवादीको तर्फबाट वकिलहरुले निरन्तर बहस गर्दै आएका छन् । यो प्रकरणमा १८ जना पक्राउ परेका छन् भने बाँकी १२ जना फरार छन् ।
न्यायाधीश न्यौपानेले आज बहस सकेर आदेश दिनेगरी योजना बनाएको भएपनि अझै बहस नसकिएकाले थुनछेकको आदेश आउन ढिलाइ हुने निश्चित भएको छ ।
सबै प्रतिवादीको तर्फबाट बहस सकिएपछि सरकारी वकिलहरूले जवाफी बहस थाल्ने छन् । जवाफी बहस सकेपछि धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश आउने छ ।