सुनुवाइ समितिमा उजुरीमाथि उजुरीकर्ताहरुद्धारा नै छलफल अस्वीकार

सहयात्रा टिभी

काठमाडौं । जेठ ३१, प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएका उजुरीकर्ताले आफ्नो उजुरीमाथि छलफल गर्न नै अस्वीकार गरेका छन् ।

उनीहरुले प्रधानन्यायाधीशमा कार्कीको सिफारिसको निर्णय र संसदीय सुनुवाइको वैधानिकतामा नै प्रश्न उठाएर छलफल गर्न अस्वीकार गरेका हुन् ।

बुधबार संसदीय सुनुवाइ समितिले उजुरीकर्ताका तर्फबाट श्रीकृष्ण भट्टराई, ध्रुवलाल श्रेष्ठ र अमृत खरेललाई छलफलमा बोलाएको थियो । तर सांसदहरुले उजुरीमाथि छलफल गर्न खोज्दा उनीहरुले अस्वीकार गरेको एक सांसदले बताए ।

उजुरीकर्तामध्येका एक ध्रुवलाल श्रेष्ठले पनि प्रधानन्यायाधीशमा कार्कीको सिफारिसको निर्णय र संसदीय समितिको बैधानिकतामा नै प्रश्न रहेकाले आफूहरुले त्यही विषयमा छलफल गर्न चाहेको बताए । उनीहरुले सबै उजुरीकर्तासँग सामूहिक छलफल हुनुपर्ने माग पनि राखे ।

करिब २० मिनेटसम्म उनीहरु संसदीय सुनुवाइ समितिसँग छलफलमा बसेका थिए । तर उजुरीको विषयमा छलफल हुन सकेन । त्यसपछि समितिले समय सकियो भन्दै उनीहरुलाई बाहिर पठाएको थियो ।

पत्रकारहरुसँग कुरा गर्दै उजुरीकर्तामध्येका एक ध्रुवलाल श्रेष्ठले आफूहरुसँग अब सडक आन्दोलनको विकल्प नभएको बताए ।

 

प्रकाशित : 14 June, 2023

प्रतिक्रिया दिनुहोस्