सामुहिक बलात्कार आरोपमा चार पक्राउ

सहयात्रा टिभी

जनकपुर । एक किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा जनकपुुरप्रहरीले चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  घटनाको लामो समयपछि प्रहरी कार्यालयमा पीडितले उजुरी गरेपछि जनकपुर उपमहानगरपालिका १८ स्थित जलाशयमा छठ घाटमा बसिरहेकी १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको हो ।

पीडितको उजुरीको आधारमा आरोपीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका १८ का २० वर्षीय मनिष कुमार मण्डल, १९ वर्षीय राजु मण्डल, १९ वर्षीय गुडु मण्डल र १८ वर्षीय सुनिल मण्डल छन् । बलात्कारपछि उनीहरुले कसैलाई बताए मारिदिने धम्की दिएका थिए ।

पीडित किशोरीलाई आरोपीहरुले धम्की र ‘ब्ल्याकमेल’ गर्न थालेपछि पीडितले उजुरी गरेको प्रहरीको भनाई छ ।कार्तिक ९ गते राति ११ बजे छठ घाटमा बसेकी किशोरीलाई मदिरा सेवन गरी आएका चार युवाहरुको समूहले मुख थुनेर एकान्तमा लगेर सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख छ । पक्राउ परेका चारै जनालाई कार्तिक २८ गते जवरजस्ती करणी मुद्दामा जिल्ला अदालत धनुषाबाट म्याद थप गराएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 16 November, 2017

प्रतिक्रिया दिनुहोस्