Category: ब्रेकिङ न्युज

  • चोलेन्द्र शमशेर जबराको पक्राउप्रति सांसद महरको आपत्ति

    चोलेन्द्र शमशेर जबराको पक्राउप्रति सांसद महरको आपत्ति

    काठमाडौँ । असोज १२, नेकपा एमालेका सांसद ऐन महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले असोज १० गते राति निवासबाट पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।

    सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले जबरालाई पक्राउ गर्ने क्रममा सरकारले ‘गुण्डागर्दी’ र ‘अपहरण शैली’ अपनाएको आरोप लगाए । उनले सरकारको उक्त कदम कानुनी राज्य र विधिको शासनविपरीत भएको दाबी गरे ।

    महरले लोकतन्त्रमा कोही पनि कानुनभन्दा माथि हुन नसक्ने भन्दै कसैले कानुन उल्लङ्घन गरेको भए तथ्य र प्रमाणका आधारमा अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्ने बताए ।

    ‘कानुनभन्दा माथि लोकतन्त्रमा कोही पनि हुँदैन। यदि कसैले कानुन हातमा लिने काम गरेको छ भने जोसुकैलाई पनि अभियोग लगाएर तथ्य र प्रमाणका आधारमा कानुनी दायरामा ल्याउनुपर्छ,’ उनले भने ।

    सरकारले पूर्वाग्रह र प्रतिशोधका आधारमा आफूहरूको विरोध गर्ने व्यक्तिलाई तर्साउने, धम्काउने र पक्राउ गर्ने गरेको आरोप पनि महरले लगाए । उनले सरकार गठन भएदेखि नै यस्ता घटना दोहोरिँदै आएको दाबी गरे ।

    महरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग जोडिएका घटनाको समेत उदाहरण दिँदै सरकारको कार्यशैलीप्रति आलोचना गरे । नागरिकको मान–प्रतिष्ठा, व्यक्तिगत अधिकार र मानवअधिकारको सम्मान गर्नुपर्नेमा उनले जोड दिए ।

    जबरालाई ‘जेनजी’बाट सुरक्षा खतरा रहेको भनिएको विषयप्रति पनि महरले प्रश्न उठाए । सुरक्षा खतरा दिने भनिएका व्यक्तिमाथि कारबाही गर्नुको सट्टा खतरा रहेको भनिएका व्यक्तिलाई नै पक्राउ गरिएको भन्दै उनले आपत्ति जनाए ।

    ‘जो थ्रेट दिने मान्छे हुन्, तिनलाई सुरक्षा दिने र जसलाई थ्रेट दिइएको छ, उसलाई ल्याएर पक्राउ गर्ने?’ उनले प्रश्न गरे ।

    पूर्वप्रधानन्यायाधीशजस्तो प्रतिष्ठित व्यक्तित्वलाई पक्राउ गर्ने क्रममा सरकारले उनको मान–प्रतिष्ठा र मानवअधिकारको समेत ख्याल नगरेको महरको आरोप थियो ।

    जेनजी आन्दोलनको नाममा युवाहरूलाई बदनाम गर्ने काम नगर्न सरकारलाई आग्रह गर्दै महरले सुरक्षा खतरा दिने व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्नसमेत माग गरे ।

  • पूर्व प्रधानन्यायाधीश जबरालाई परिवारको जिम्मा लगाइयो

    पूर्व प्रधानन्यायाधीश जबरालाई परिवारको जिम्मा लगाइयो

    काठमाडौँ । असोज ११, पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ ।

    शनिबार मध्यराति घरबाटै पक्राउ परेका जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

    अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले भने जबरालाई सुरक्षित ठाउँमा पठाएको बताएका थिए । ‘सुरक्षित ठाउँ’ भनेको कहाँ हो भन्नेबारे भने उनले खुलाएका छैनन् ।

    गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट उनलाई पक्राउ गरेको थियो ।

    उनलाई भेट्न भनेर कार्यालय पुगेको मानव अधिकार आयोगको टोलीलाई पनि प्रहरीले भेट्न दिएन । गेटमा करिब ४५ मिनेट कुर्दा पनि भेट्न नदिइएपछि आयोगको टोली फर्किएको थियो ।

    सरकारले जबरालाई पक्राउ गर्नुपर्नाका कारण खुलाएको छैन ।गएराति अपराध अनुसन्धान कार्यालय टेकुको टोली निवास आएपछि जबराले भाइ प्रभुशम्शेरलाई फोन गरेर जानकारी गराएका थिए ।

  • बागलुङमा पहिरोमा पुरिएर आमा र तीन छोराको मृत्यु

    बागलुङमा पहिरोमा पुरिएर आमा र तीन छोराको मृत्यु

    काठमाडौँ । असोज ११, बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ ।

    निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिए ।

    केही बेरअघि उनीहरूको शव निकालिएको प्रहरीले जनाएको छ ।

  • नारायणी नदीमा खतराको तह नाघ्यो, भरतपुरका तटीय बस्तीमा पस्यो बाढी

    नारायणी नदीमा खतराको तह नाघ्यो, भरतपुरका तटीय बस्तीमा पस्यो बाढी

    काठमाडौँ । असोज ११, चितवनमा रातभर परेको वर्षाका कारण देवघाटस्थित नारायणी नदीमा पानीको सतहले खतराको सीमा नाघेको छ। नदीमा बहाव निरन्तर बढ्दै गएपछि भरतपुर महानगरपालिकाका नदी तटीय बस्तीहरूमा बाढी पस्न थालेको छ।

    भरतपुर महानगरपालिका–१७ र २८ का केही बस्तीहरूमा नदीको पानी पसेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ। नदीको सतह बढ्दै जाँदा समग्र पश्चिम चितवनका तल्लो क्षेत्रमा कटान र डुबानको उच्च जोखिम देखिएको छ।

    चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार जोखिम बढेका बस्तीहरूमा प्रहरी परिचालन गरी सतर्क रहन माइकिङ तथा सूचना प्रवाह भइरहेको छ।

    नारायणीमा ७ दशमलव ३ मिटरलाई चेतावनीको तह मानिन्छ। अहिले नदीमा जलसतह चेतावनीको रेखा पार गरेर निरन्तर उकालो लागिरहेको छ।

    यसैबीच, चितवनकै बनकट्टास्थित रिउ खोलामा पनि बाढीले खतराको तह पार गरेको छ। रिउ खोलामा ३ दशमलव ४० मिटरलाई चेतावनी र ३ दशमलव ८० मिटरलाई खतराको तह मानिनेमा अहिले जलसतह ४ दशमलव ६२ मिटर पुगेको छ। यो खोलामा पानीको सतह केही घट्न थाले पनि अझै खतराको रेखाभन्दा माथि नै बगिरहेको छ।

    जल तथा मौसम विज्ञान विभागले नारायणी र रिउ खोला दुवैमा पानीको बहाव उच्च रहेकाले नदी किनारका सम्पूर्ण बासिन्दालाई विशेष सतर्कता अपनाउन र जोखिम देखिए तत्काल सुरक्षित स्थानतर्फ जान अपिल गरेको छ।

  • कालीगण्डकीको बाढीले पर्वतको फर्सेमा बगायो २५ घर

    कालीगण्डकीको बाढीले पर्वतको फर्सेमा बगायो २५ घर

    काठमाडौँ । असोज ११, कालीगण्डकी नदी उर्लिएर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेका २५ घर बगेका छन्। आइतबार बिहान करिब ८ बजे नदीको बहाव एक्कासि बस्तीतिर सोझिएपछि ती घरहरू बगेका हुन्।

    प्रहरीका अनुसार करिब ८० घरधुरी रहेको उक्त बस्तीमा बाढी पसेपछि २५ वटा घर बगाएको छ भने बाँकी घरहरू पनि तीव्र कटान र जोखिममा परेका छन्।

    बाढी पस्न थालेलगत्तै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। हालसम्म घटनामा कसैको पनि ज्यान नगएको प्रहरीले स्पष्ट पारेको छ।

    यता, सडकमा खसेको पहिरोका कारण उद्धार टोलीलाई घटनास्थल पुग्न कठिनाइ भइरहेको छ। घटनास्थल मिलनचोकस्थित प्रहरी चौकीबाट करिब ६ किलोमिटर पूर्वतर्फ पर्छ।

    पहिरो पन्छाएर घटनास्थलसम्म पुग्ने प्रयास भइरहेको र घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

  • मनाङको ताल गाउँ डुबानमा, माथिल्लो क्षेत्रसँग सम्पर्क विच्छेद

    मनाङको ताल गाउँ डुबानमा, माथिल्लो क्षेत्रसँग सम्पर्क विच्छेद

    काठमाडौँ । असोज ११, मनाङको नासोँ गाउँपालिका–१ स्थित ताल गाउँमा मर्स्याङ्दी नदीको बहाव गाउँतर्फ पस्दा बस्ती डुबानमा परेको छ । विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि ताल गाउँभन्दा माथिल्लो क्षेत्रसँग सम्पर्क हुन सकेको छैन ।

     

    नासोँ गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङका अनुसार मर्स्याङ्दी नदीको बहाव अस्वाभाविक रूपमा बढेपछि पुल आसपासको क्षेत्रमा पानीको निकास अवरुद्ध भएको थियो । त्यसपछि नदीको बहाव फर्किएर गाउँभित्र पसेको हो ।

    उनका अनुसार प्रारम्भिक जानकारीअनुसार ताल गाउँका चारदेखि पाँच घरधुरी प्रभावित भएका छन् । थप क्षतिको विवरण भने अझै आउन सकेको छैन । विद्युत् र सञ्चार सेवा अवरुद्ध भएकाले ताल गाउँभन्दा माथिल्लो बस्तीको अवस्थाबारे जानकारी लिन कठिन भएको अध्यक्ष गुरुङले बताए । त्यहाँ रहेका स्थानीयसँग सम्पर्क हुन नसकेकाले थप क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले बताए ।

    नासोँ गाउँपालिका मनाङको लमजुङसँग जोडिएको दक्षिणी प्रवेश क्षेत्र भएकाले अहिले उपलब्ध जानकारी ताल गाउँसम्म सीमित रहेको गाउँपालिकाले जनाएको छ । माथिल्लो क्षेत्रको अवस्था बुझ्न प्रयास भइरहेको छ ।