प्राधिकरणद्धारा बिजुली कटौती गरी भारत निर्यात नगरेको प्रष्ट्याइ

सहयात्रा टिभी

काठमाडौँ । असार ३, नेपाल विद्युत् प्राधिकरणले देशभित्र बिजुली आपूर्ति कटौती गरी भारतलाई निर्यात नगरेको प्रस्ट पारेको जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतवार पत्रकार सम्मेलन गरी विगत केही दिन प्रणालीमा प्राविधिक गडबढी हुँदा देशको मध्य र पश्चिम क्षेत्रमा बिजुली आपूर्तिमा केही समस्या भएकोमा अहिले समाधान भइसकेको बताउनुभयो ।

‘देशभित्र बिजुली कटौती गरी निर्यात गरेको चर्चा हुने गरेको जुन सत्य हैन, देशभित्र उत्पादित बिजुली यहाँ पुग्ने जति खपत गरी बढी भएको मात्र निर्यात गर्ने हो, खपत र निर्यात सँगसँगै जान्छ, खपत गरी बढी भएको बिजुली निर्यातमार्फत बिक्री गरेनौँ भने प्राधिकरणलाई करौडौँ रुपैयाँ घाटा हुन्छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘केही दिन प्रणालीमा गडबढी भएको सत्य हो, दिनमा ११ पल्टसम्म ट्रिपिङ भएको देखिन्छ, फल्ट  पत्ता लगाएर अहिले सुधार गरिसकेका छौँ, प्रणाली नै गएपछि बिजुली निर्यात पनि हुँदैन ।’

प्रसारण तथा वितरण प्रणालीको क्षमताले नधान्दा वीरगञ्ज औद्योगिक कोरिडोर र बाँकेको कोहलपुर क्षेत्रका उद्योगहरूमा बेलुकाको पिक समयमा बिजुली आपूर्तिमा केही समस्या रहेको उल्लेख गर्दै घिसिङले बिजुली कटौती गरेर निर्यात भने नगरिएको बताउनुभयो ।

उहाँले प्रसारण तथा वितरण प्रणाली सुधारका लागि अगाडि बढाइएका योजना तथा कार्याक्रम कार्यान्वयनका लागि जताततैबाट अवरोध हुने गरेको गुनासो गर्नुभयो ।

 

 

प्रकाशित : 18 June, 2023

प्रतिक्रिया दिनुहोस्