चुनाव विथोल्न विप्लव कार्यकर्ता सक्रिय, सात दिनमा ६ नेता निशानामा

सहयात्रा टिभी

काठमाण्डौं ।निर्वाचन नजिकिएसँगै देशभर चुनाव विरोधी गतिविधि पनि बढेको छ । नेत्रविक्रम चन्द (विप्लव) को नेकपा माओवादी चुनाव विरोधी गतिविधिमा बढी सक्रिय देखिएको छ ।

पछिल्लो समयमा नेकपा माओवादीले पूर्वदेखि पश्चिमसम्म प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेद्वाहरुमाथि आक्रमणका घटना बढाइरहेको छ । एक सातामा मात्र ६ जना शीर्ष नेताहरुमाथि आक्रमणका घटना भएका छन् । घटनामा संलग्न भएको आरोपमा केही व्यक्ति पक्राउ पनि परेका छन् । प्रहरीको शंका चुनावविरोधि गतिविधि गर्दै आएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीतिर देखिन्छ । उक्त पार्टीका केन्द्रीय सदस्य केशबहादुर बाँठा भने आफूहरुको नाममा तेस्रो पक्षले फाइदा लिइरहेको बताउँछन् । उनी भन्छन्–‘हामी शान्तिपूर्ण विरोधमा छौं ।’

२४ कात्तिकमा विना विभागीय मन्त्री तथा वाम गठबन्धनबाट पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेद्वार जनार्दन शर्मा चढेको गाडीमाथि दुई वटा बम प्रहार भयो । त्यसको भोलिपल्ट माओवादी नेता तथा रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार वर्षमान पुनलाई लक्षित गरी माइन विष्फोट गराइयो । २६ कात्तिकमा उनीमाथि फेरि आक्रमण भयो । उनी सडकमा हिंडिरहेका बेला माथिपट्टिबाट एक समूहले ढुङ्गा खसाएको थियो । त्यसक्रममा प्रहरी र आक्रमणकारीबीच दोहोरो फायरिङ समेत भयो ।२८ कात्तिकमा एकै दिन तीन नेतालाई लक्षित गरी बम प्रहार भयो ।

म्याग्दीको बेनी नगरपालिकामा कांग्रेसको चुवानी अभियानलाई लक्षित गर्दै बम विष्फोट गराइएको थियो । कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार खम्बिर गर्बुजा उक्त कार्यक्रममा सहभागी थिए । भोजपुरमा पनि एमालेबाट प्रदेशसभा सदस्य उम्मेद्वार शेरधन राईलाई लक्षित गरी बम प्रहार भयो । घटनामा उनका अंगरक्षक डिल्ली देवकोटा घाइते भए । सोही दिन संखुवासभामा प्रतिनिधिसभामा एमालेका उम्मेद्वार राजेन्द्र गौतमलाई पनि लक्षित गरी विष्फोट गराइयो । ३० कात्तिकमा सिंचाइ राज्यमन्त्री अमरसिंह पुन र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गरी बम विष्फोट गराइयो । पुन रोल्पाबाट कांग्रेसका प्रतिनिधिसभा उम्मेद्वार हुन् ।

प्रकाशित : 17 November, 2017

प्रतिक्रिया दिनुहोस्