‘लम्पी स्किन’को सङ्क्रमणबाट बाँकेका ७ हजार पशु प्रभावित

काठमाडौँ । असार ६, बाँकेमा ७ हजार पशुमा ‘लम्पी स्किन’को सङ्क्रमणबाट प्रभावित रहेको देखिएको छ।
लम्पी स्किन रोगको सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ। सङ्क्रमण जिल्लाभर फैलिए पनि किसानले भ्याक्सिनेसनको सुविधा पाएका छैनन्।
जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, पशु चिकित्सक रुपेन्द्रकुमार ओलीले उहाँले पशुमा देखिएको सङ्क्रमणले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै रोगको पहिचानका लागि ल्याब टेष्ट र लक्षण अनुसारको उपचार भइरहेको जानकारी दिए ।
‘केही किसानले निजी स्तरबाट भ्याक्सिन लगाउनुभएको होला तर जिल्लामा भ्याक्सिन आएको छैन’, उनले भने ।
घाउ, खटिरा आएकालाई ड्रेसिङ गर्ने काम भइरहेको जानकारी दिँदै डा ओलीले भाइरसबाट सर्ने रोग भएकाले यसको दिगो उपचार नभएको बताए।
नेपालगञ्ज उपमहानगरपालिकासहित सबै स्थानीय तहमा उक्त भाइरसको सङ्क्रमण देखिएको उनको भनाइ थियो।
राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको भेटेरिनरी अस्पतालले जनाएको छ।
नेपाल भेटेरिनरी एसोसिएसनका सचिव डा शङ्कर न्यौपानेले सङ्क्रमणबाट पशुवस्तुको मृत्युपछि किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको बताए ।