सन्दीपले गरे वेष्ट इण्डिजका ओपनर ब्रेन्डनलाई बोल्ड आउट
सहयात्रा टिभी
काठमाडौँ । असार ७, आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा वेष्ट इण्डिजविरुद्ध बलिङ गरेको नेपालले तेस्रो विकेट झारेको छ ।
हरारे स्पोर्टस क्लबमा जारी खेलमा नेपालका सन्दीप लामिछानेले वेष्ट इण्डिजका ओपनर ब्रेन्डन किंगलाई बोल्ड आउट गरेका छन् । यो सन्दीपका लागि प्रतियोगिताकै पहिलो विकेट हो ।
यसअघि पहिलो खेलमा जिम्बाव्वे र दोस्रो खेलमा अमेरिकाविरुद्ध पूरा स्पेल बलिङ गरे पनि उनी विकेटविहीन थिए । जिम्बाव्वेविरुद्ध ७७ रन र अमेरिकाविरुद्ध ५८ रन खर्चेर विकेटविहीन भएका थिए ।
एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सन्दीपले लगातार ३३ खेलसम्म विकेट लिने कीर्तिमान बनाएपछि लगातार दुई खेलमा विकेट लिन नसकेका हुन् ।
टस जितेर पहिला फिल्डिङ गरेको नेपालले दुईपल्टको विश्व विजेता वेष्ट इण्डिजलाई सुरुदेखि नै दवावमा राखेको छ ।