प्राधिकरणले लोड घटाउन भनेपछि ऊर्जा उत्पादकहरुद्धारा विरोध
काठमाडौँ । असार १२, नेपाल विद्युत प्राधिकरणले वर्षायाममा बिजुलीको उत्पादन घटाउन भनेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुले विरोध जनाएका छन् ।
उनीहरुले प्राधिकरणका कारण ३० जलविद्युत आयोजनाको ५०० मेगावाट विद्युत खेर गएको दाबीसमेत गरेका छन् ।
प्राधिकरण र ऊर्जा उत्पादकहरुबीच वर्षायाममा १० प्रतिशतसम्म लोड घटाउन भन्नसक्ने उल्लेख हुने गरेको छ । सोही आधारमा प्राधिकरणले वर्षायाममा बढी उत्पादन हुने र खपत हुन नसकेर खेर जाने भएकाले बिजुली उत्पादन घटाउन भनेको छ ।
तर प्रसारण लाइनको क्षमता हुँदाहुँदै पनि प्राधिकरणले उत्पादन घटाउन लगाएको आरोप लगाउँदै प्राधिकरणविरुद्ध अदालत जान परे पनि जाने इप्पानले जनाएको छ ।
सोमबार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले विद्युत प्राधिकरणको नाफा थोरै घट्दा केही फरक नपर्ने तर, एउटा विद्युत आयोजना डुब्दा त्यसको असर धेरै ठाउँमा पर्ने बताए ।