झापामा के छन् ओलीका अप्ठ्यारा ?
झापा । स्थानीय तहपछि हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको माहौलले अहिले देश गर्मिएको छ । दलका उम्मेद्वारहरु आफ्नो निर्वाचन क्षेत्रमा गएरचुनावी अभियानमा सक्रिय भएसँगै कुन नेताको कोसँग टक्कर र कुन नेताका अघि कसको पल्ला भारी ? जस्ता विषयले चर्चा पाएका छन् ।
देशभर चुनावी चर्चा भइरहेका बेला केहि जिल्लाका नेताको गतिविधि, अभियान र राजनीतिक जोड–घटाऊले देशकै ध्यान खिचिरहेको पनि छ । त्यस्तै चर्चामा रहेको क्षेत्र हो झापा– ५ पनि । यस क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रतिष्पर्धामा छन् । वाम गठबन्धनका साझा उम्मेद्वारका रुपमा मैदानमा रहेका ओलीका मुख्य प्रतिष्पर्धी कांग्रेस उम्मेद्वार डा. खगेन्द्र अधिकारी छन् । यहाँ राप्रपाको उपस्थिति पनि राम्रै छ । राप्रपाको समेत समर्थन यस पटक ओलीलाई नै छ । देशव्यापी रुपमा कांग्रेस र राप्रपाबीच तालमेल भए पनि झापामा राप्रपाले वाम गठबन्धनसँग सहकार्य गरेको छ । माओवादी र राप्रपा समेतको समर्थन रहेकाले ओलीको मुख्य प्रतिष्पर्धी कांग्रेस उम्मेद्वार अधिकारी नै हुन् ।
यही क्षेत्रमा पर्ने गौरादह नगरपालिका प्रमुख जितेको कांग्रेसको यस क्षेत्रमा प्रभाव राम्रै छ । नेपाली राजनीतिका एक शीर्षस्थ नेता तथा पूर्व प्रधानमन्त्रीसँग अधिकारी प्रतिष्पर्धामा रहेका छन् । गठबन्धनका बलिया उम्मेद्वार ओली २००८ साल फागुनमा तेह«थुमको इवामा जन्मिएका केपी शर्मा ओली हालको नेपाली राजनीतिका एक महत्वपूर्ण खम्बा हुन् । सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको अध्यक्ष अनि पूर्व प्रधानमन्त्री हुनुको नाताले उनी एउटा शक्तिशाली राजनीतिक पात्रका रुपमा स्थापित छन् । २०२२ सालदेखि झापाका स्थायी बासिन्दा ओली २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा झापाबाट निर्वाचित भएका थिए ।
मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकार २०५१ मा ओली पहिलो पटक मन्त्री बनेका थिए । त्यतिबेला उनले ९ महिना गृहमन्त्रीको भूमिका निर्वाह गरे । त्यसपछि २०६३ मा उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका ओली २०७२ असोज २४ गते नेपालको ३८औं प्रधानमन्त्रीमा निर्वाचित भए । २०२२ सालदेखि कम्युनिष्ट राजनीतिमा प्रवेश गरेका उनी २०२८ सालको झापा विद्रोहको अगुवा समेत हुन् भने सोही कारण जेल पनि परे । १४ वर्षसम्म जेल जीवन बिताएका उनी २०४४ सालदेखि सार्वजनिक राजनीतिमा छन् । २०४९ सालदेखि नेकपा एमालेको स्थायी कमिटीमा रहँदै आएका उनी २०७१ असारमा भएको पार्टी महाधिवेशनबाट भने अध्यक्षमा निर्वाचित भएका हुन् । पार्टीको प्रमुख जिम्मेवारीमा नरहे पनि वाकपटुताका धनी प्रष्टवक्ता ओली झण्डै एक दशकदेखि नेपाली राजनीतिको चर्चाको केन्द्रमा छन् ।
पहिलो संविधानसभा निर्वाचनमा आफ्नै पुरानो गृह क्षेत्र झापा क्षेत्र नम्बर–७ बाट पराजित भएका ओली दोस्रो पटकको निर्वाचनबाट भने भारी मतसहित विजयी भए । माओवादीको सशस्त्र युद्धका समयमा माओवादीका कटुआलोचक मानिने ओली पछिल्लो समय माओवादीसँग उत्तारचढावपूर्ण सम्बन्धमा छन् । आफ्नै सरकारमा रहेका बेला माओवादीबाट अविश्वासको प्रस्ताव झेलेका ओली अहिले माओवादी समेतका साझा उम्मेद्वार बनेका छन् । ओलीले यसपटक आफ्नो प्रतिष्पर्धी नै नरहेको बताउँदै आएका छन् । यस क्षेत्रको जनप्रतिनिधि भएका बेला र नहुँदा पनि विकास निर्माणका लागि गरेका काम, राष्ट्रिय राजनीतिमा खेलेको भूमिका, राष्ट्रियताका पक्षमा लडेका लडाईलगायतले जनताले आफूलाई विगतदेखि नै पत्याउँदै आएको उनको भनाई छ । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा पनि आफू स्थानीय क्षेत्रको विकासका लागि मात्र चुनावी मैदानमा नआएको बताएका ओलीले यस पटक राष्ट्रिय राजनीतिमा खेल्ने भूमिकालाई नै केन्द्रमा राखेर भोट मागिरहेका छन् । स्थानीय र प्रदेश तहबाट हुन नसक्ने काम आफूले गर्ने उनको भनाइ छ।
‘स्थानीय साथीहरु योजना ल्याउनुस्, स्थानीय वा प्रदेश तहबाट हुन नसक्ने कामहरु म पूरा गरि दिनेछु,’–ओली यसो भन्दै मतदातामाझ भोट मागिरहेका छन्। ओलीका प्रतिष्पर्धी अधिकारी राजनीतिक भन्दा प्राज्ञिक व्यक्ति हुन् । राजनीतिक अनुभवका हिसाबले ओलीभन्दा पछि भए पनि विषय विज्ञताका हिसाबले अधिकारी अब्बल छन् । भारतको सौराष्ट्र विश्वविद्यालयबाट गैंडाको इकोलोजीमा विद्यावारिधि गरेका अधिकारी साढे १७ वर्ष लामो प्राध्यापन पेशा छाडी हालै मात्र पूर्णकालीन राजनीतिमा होमिएका हुन् । अधिकारी आफ्नो राजनीतिक जीवन २०४६ सालको राजनीतिक परिवर्तनपछि शुरु भएको बताउँछन् । २०३१ सालमा गौरादहको धिमधिमेमा जन्मिएर प्रारम्भिक शिक्षा स्थानीय सूर्याेदय निमावि, त्यसपछि गौरादहको जनता माविबाट लिएका उनी हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । २०४७ मा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरी धरानको केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार भर्ना भएका उनले त्यहिँबाट नेविसंघको राजनीति शुरु गरेका थिए । आईएस्सी अध्ययनका क्रममा उनी नेविसंघको क्याम्पस इकाई सभापति समेत बने ।
त्यसपछि बिएस्सी अध्ययनका लागि महेन्द्र मोरङ क्याम्पस विराटनगर आए । महेन्द्र मोरङमा समेत अध्ययनसँगै राजनीतिलाई निरन्तरता दिएका उनी इकाई सभापति भए भने त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरबाट एमएस्सी पूरा गरेपछि २०५७ सालदेखि प्राध्यापन पेसामा संलग्न रहे । साढे १७ वर्ष लामो प्राध्यापन पेसालाई छाडेर समाज र राष्ट्रको सेवाका लागि राजनीतिको मैदानमा आएको उनको तर्क छ । डेढ दशकभन्दा लामो समय सरकारको नोकर भएर अब जनताको नोकर हुन राजनीतिमा आएको बताउँदै अधिकारीले भोट मागिरहेका छन् । आफू युवा हुनु, विषयविज्ञ हुनु, नागरिकमा परिवर्तनको अपेक्षा रहनु, लोकतन्त्रको पक्षधर हुनु र काँही पनि बसाई सरेर नगई निरन्तर स्थायी बसोबास गरिरहनु आफ्ना जीतको आधार रहेको उनको तर्क छ ।
यस्तै राप्रपासँगको देशव्यापी गठबन्धनका कारण झापामा वाम र राप्रपाबीचको गठबन्धन औपचारिक मात्र हुनुले पनि राप्रपाको भोटसमेत आफूले तान्ने उनको तर्क छ । यस्तै कम्युनिष्टको किल्ला मानिने गौरादह नगरपालिकामा केही वडाध्यक्षसहित प्रमुख, गौरीगञ्जमा उपप्रमुखसहित केही वडाध्यक्ष जित्नु, कमल गाउँपालिकामा बराबरी मत पाउनु र दमकमा अहिले पार्टीभित्र कुनै विवाद र गुट नरहनुले आफ्नो जीत सुनिश्चित गरेको उनको जिकिर छ । दुवैको आ–आफ्नै दाबी भए पनि नतिजा यही नै हुन्छ भन्न सकिने अवस्था छैन् । हेभीवेट उम्मेद्वार ओली तुलनात्मक रुपमा बलियो देखिए पनि अधिकारीले उनलाई राम्रै चुनौती दिने अनुमान स्थानीयले गरेका छन् ।