के तपाई चिन्ता र समस्यामा हुनुहुन्छ ? यसरी रहनुहोस् मुक्त

सहयात्रा टिभी

काठमाडौं । सायदै चिन्ता, तनाव र समस्याबाट विश्वका कोही मान्छे अछुतो होलान्, प्रायः सवै मानिसहरु कुनै न कुनै प्रकारको चिन्ता वा समस्यामा रहन्छन् नै । कतिले आफूसंग भएको तनाव व्यक्त गर्छन् कतिले गर्दैनन् । तनाव र जिवनमा आएका समस्याकै कारण समाधान र विकल्पको बाटो नपहिल्याउदा आत्महत्यासम्म पनि गर्न पछि पर्दैनन् । गांउघरमा प्रचलित एक उखान नै छ नि चिन्ताले नै चितासम्म पुर्याउँछ ।

तनाव, चिन्ता र समस्याको व्यवस्थापन कसरी गर्ने त ? यि उपाय तपाईका लागि लाभदायी हुन सक्छन् :

आफूलाई मनपर्ने साथीसँग कुरा गर्नुस :
जब तपाईलाई तनाब हुन्छ, त्यतिबेला तपाई केही समय विश्राम लिनुस अनि आफूलाई मनपर्ने साथीसँग आफ्ना समस्याबारे कुरा गर्नुस् । जसले तपाईको समस्यालाई समाधानतर्फ सुझाउछ, त्यस्तो साथीसंग आफ्ना समस्या राख्नुहोस् । साथीको सम्बन्धन स्वस्थ जीवनशैलीका लागि महत्वपूर्ण हुन्छ ।

गीत सुनेर चिन्ता भुल्ने प्रयास गर्ने :
यदि तपाई चिन्ता र समस्यामा हुनुहुन्छ भने केही समय आफ्नो कामवाट विश्राम लिनुहोस् वा आफ्नो ध्यान गीत संगितमा मोड्नुहोस् । यसले तपाईको दिमाग र शरीरलाई आराम दिएर ब्लड प्रेसर र तनाव बढाउने हर्माेन घटाउन मद्धत गर्छ र समस्याको समाधानतर्पm मष्तिष्कले काम गर्न थाल्छ ।

आफैसँग कुरा गर्नुहोस् :
चिन्ता र समस्या हटाउन साथीसँग कुरा गर्ने विकल्प नभएको अवस्थामा आफैसँग कुरा गर्नु पनि उत्तम विकल्प हुन सक्छ । यस्तोबेला तनावको कारण र समाधान कसरी हुन्छ भनी आफैसँग प्रश्न गर्नुस् । समयसंगै सबै कुरा ठीक हुन्छ भनी आफूले आफूलाई विश्वस्त पार्ने प्रयास गर्नुहोस् ।

सन्तुलित भोजन खानुहोस् :
तनाव र सन्तुलित भोजन परस्पर सम्बन्धित छन् । जब हामी तनावमा हुन्छौं, सन्तुलित खाना छाडी तयारी खानेकुरा खान्छौं । यस्तो बेला फलफूल र तरकारी खान राम्रो हुन्छ ।

खुलेर हास्नुहोस् :
जव तपाईलाई चिन्ता वा समस्या पर्छ, तव खुलेर हास्ने प्रयास गर्नुहोस् । हुनत तनावमा कसरी खुलेर हास्ने ? तपाईको प्रश्न हुन सक्छ, तर हास्दा शरीरमा भएको इन्डोरफिन नामक रसायन उत्पन्न भई तनाव बढाउने हर्माेन घटाउन मद्धत गर्छ । कमेडी फिल्म हेरे या चुटकिला पढ्यो भने पनि तनाव कम गर्न सकिन्छ ।

चिया पिउनुहोस् :
तनाव हटाउने एक अर्काे उपाय हो, ग्रिन टि पिउने । यसमा भएको रसायनले तनाव कम गर्न मद्धत पुर्याउँछ ।

व्यायाम गर्नुहोस् :
तनाव र समस्यामा परेका वेला आफूलाई सन्तुलित राख्न व्यायाम गरेर पनि तनाव कम गर्न सकिन्छ । व्यायाम भन्नेबित्तिकै भारात्तोलन उठाउने र म्याराथनका लागि दौड्ने भन्ने होइन । घर, आँगन या कार्यालय वरिपरि हिँडेर पनि व्यायाम गर्न सकिन्छ । यसले रक्तसञ्चार गरी तनाव मुक्त गर्ने रसायन उत्पादन गरी तनाव हटाउन सहयोग पुर्याउँछ ।

जीवनशैलीबारे सचेत रहनुहोस् :
माथि उल्लेखित सवै उपाय छोटो अवधिका लागि तनाव कम गर्ने उपाय हुन् । जीवनशैलीबारे सचेत रहेर तनाव कम गर्न सकिन्छ । यो तनाव कम गर्ने दीर्घकालीन उपाय हो ।

आरामसँग सुत्नुहोस् :
निद्रा पुगेन भने पनि तनाव बढ्छ भन्ने धेरैलाई थाहा होला । अनिद्रा पनि तनावको एक कारण हो । भनिन्छ नि एक रातको निन्द्राले सात रात सम्म पिरोल्छ, त्यसैले सकेसम्म मष्तिष्कलाई आराम दिनुहोस् र आरामले दैनिक सातदेखि आठ घन्टा सुत्नुहोस् । तनाव भएका बेला चाडै टिभी बन्द गर्नुस्, बत्ती निभाउनुस् र आरामसँग सुत्नुस् । यसले तनाव कम गर्न सहयोग गर्छ ।

प्रकाशित : 18 November, 2017

प्रतिक्रिया दिनुहोस्