लुम्बिनीमा प्रतिपक्षी दलको असन्तुष्टी मै बजेटमाथिको छलफल सकियो

काठमाडौँ । असार १८, लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको असन्तुष्टी मै नाराबाजी गरिरहे पनि बजेटमाथिको छलफल सकिएको छ ।
आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि अर्थमन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको बजेटमाथि सैद्दान्तिक छलफल गर्न आह्वान गरिएको प्रदेश सभा बैठक एमालेको अवरोधले अघि बढ्न सकेको थिएन ।
सोमबार बोलाइएको बैठकमा पनि प्रतिपक्षले बजेटमाथि असन्तुष्टी जनाउँदै आफ्नो विरोध जारी राख्यो । बैठक सुरु भएलगत्तै बोल्ने समय पाएका एमालेका प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरीले सरकारले आफूहरुले राखेको माग नसुनेको भन्दै विरोध जनाए ।
एमालेको अवरोधपछि एक घण्टा स्थगित गरेर पुनः सुरु भएको बैठकमा एमाले प्रदेश सांसदले नाराबाजी गरिरहे पनि सभामुख तुलाराम घर्ती मगरले बैठक अघि बढाए ।
बैठकमा नाराबाजीकै बीच सत्ता पक्षका सांसदहरुले बजेटमाथि आफ्ना धारणा राखे । नेपाली कांग्रेसका बसिउद्दिन खाँले प्रदेशको हालसम्मकै राम्रो बजेट आएको बताए । उनले नमुना प्रदेश बनाउन सक्ने खालको बजेट सरकारले ल्याएको दाबी गरे ।
राष्ट्रिय जनमोर्चाकी सांसद तारा थापाले बजेटमा क्रमागत योजनाहरु कटौती गरिएको भन्दै त्यसलाई बजेटमा सच्याउन सुझाव दिइन् । स्वतन्त्र सांसद खड्ग बस्नेतले पनि राजनीतिक मुद्दमा भन्दा जनताका समस्यामा केन्द्रित हुन आग्रह गरे ।