फिल्म बनाउँदा मानसिक स्वास्थ्य परामर्श विभाग राख्न जरुरी :अभिनेत्री केकी
काठमाडौं । असार २२, उदयीमान अभिनेता सारुक ताम्राकारको निधनपछि नेपाली फिल्म क्षेत्र स्तब्ध छ ।
३१ वर्षमै जीवनलाई टुंग्याएपछि मनोरञ्जन क्षेत्रमा मानसिक स्वास्थ्यको बारे सोच्नुपर्ने अबस्था आएको छ ।
सेलिब्रिटीले सामाजिक सञ्जालमार्फत मानसिक स्वास्थ्यको ख्याल गर्न आग्रह गरिरहेका छन् ।
अभिनेत्री केकी अधिकारीले त फिल्मको योजना बनाउने क्रममै मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राख्न जरुरी भइसकेको उल्लेख गरेकी छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सार्वजनिक स्पटलाइटमा हुनुको लागत अकल्पनीय हुन सक्ने र यसबारे बेलैमा गम्भीर हुनुपर्नेतर्फ सचेत गराएकी छन् ।
उनी लेख्छिन्, ‘ हामीले चलचित्र निर्माता र मिडिया उद्योगका प्रतिनिधिको रूपमा हाम्रो बजेट योजना बनाउँदा वा चलचित्र हस्ताक्षर गर्दा, निर्माणको समयमा सम्पूर्ण कलाकार तथा प्राविधिक सदस्यहरूका लागि मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राखिन जरुरी भइसकेको छ । सार्वजनिक स्पटलाइटमा हुनुको लागत अकल्पनीय हुन सक्छ, बेलैमा सबै मिली यसलाई गम्भीरताका साथ लिऔं ।’