हस्तकला मेलामा एक करोडको व्यापार

सहयात्रा टिभी

काठमाण्डौं । काठमाण्डौंको भृकुटी मण्डपमा जारी हस्तकला मेलामा हालसम्म एक करोड रुपैंयाँ बराबरको कारोबार भइसकेको छ । तीन दिनदेखि जारी मेलामा नेपालीलगागायत भारत, पाकिस्तान, भुटान बंगलादेश, श्रीलङ्का, चीन, युरोप, जर्मन लगायत देशका कला पारखीको भीड लागिरहेको छ ।

राष्ट्रपति विद्यादेखि भण्डारीले गएको शुक्रबार उद्घाटन गरेको हस्तकला मेलाप्रति नेपाली र विदेशी सबैको उत्साहपूर्ण सहभागिताले आफूहरु उत्साही बनेको आयोजक हस्तकला महासंघ नेपाल (एफएचएएन) का उपाध्यक्ष होमनाथ उपाध्यायले बताए ।

पाँच दिन सम्म चल्ने मेलामा सर्वसाधरणको सहभागिता दिनहुँ बढिरहेको उनी बताउँछन् । मेलामा हस्तकलाका विविध सामग्री राखिएका दुई सय स्टल रहेको आयोजकले जानकारी दिएका छन् । मेलामा २५ जिल्लाका हस्तकला व्यवसायीको उत्पादन राखिएको छ । हस्तकला निकासी प्रवर्धन केन्द्रको सह–आयोजनामा जारी मेलामा पश्मिना, ऊनीका सामान, सिल्भरका सामान, धातुका मूर्तिहरु, हातेकागज, काष्ठजन्य उत्पादन, थान्का, हड्डी र सिंगबाट निर्मत बस्तु, छालाबाट निर्मित सामग्री र बाँसबाट बनाइएका सामानहरु विक्री तथा प्रवर्धनका लागि राखिएका छन् ।

नेपालमा उत्पादन हुने गरेका यी हस्तकलाका वस्तुहरुको मुख्य बजार भारत, पाकिस्तान, वंगलादेश र चीन रहेका छन् । हस्तकलाका व्यवसायीहरुलाई आफ्ना उत्पादनको बजार खोज्न सहयोग गर्दै अन्तराष्ट्रिय बजारमा हस्तकलाका वस्तुहरु पु¥याउनु मेलाको मुख्य उद्देश्य रहेको हस्तकला महासंघ नेपालका उपाध्यक्ष होमनाथ उपाध्याय बताउँछन् । मेलाले हस्तकला व्यवसायीहरु र विक्रेताबीच पनि सम्बन्ध स्थापित गराउने आयोजकको दावी छ । कार्यक्रमलाई उद्योग वाणिज्य महासंघ, पर्यटन बोर्ड र लघु उद्यमी तथा व्यवसायीहरुले सहयोग पु¥याएका छन् ।

प्रकाशित : 19 November, 2017

प्रतिक्रिया दिनुहोस्