इमर्जिङ टिम्स एसिया कपको लागी नेपाली टिम श्रीलंका प्रस्थान
काठमाडौँ । असार २५, विश्वकप छनोट क्रिकेट खेलेर घर फर्केको चौथो दिन नेपाली क्रिकेट टिम श्रीलंका प्रस्थान गरेको छ ।
श्रीलंकामा एशियाका टेष्ट मान्यता प्राप्त सहितका ८ राष्ट्र सम्मिलित एसीसी इमर्जिङ टिम्स एसिया कप हुँदै छ ।
इमर्जिङ कपमा नेपाल बाहेकका देशले आफ्नो ए टिमलाई सहभागी गराउनेछन् । नेपालले जिम्बाव्वेमा भएको विश्वकप छनोट खेलेका ११ जना र ५ जना नयाँ खेलाडी सम्मिलित राष्ट्रिय टिम नै पठाएको छ । प्रतियोगितामा नेपालले भारत ए, पाकिस्तान ए र यूएई एसँग खेल्नेछ ।
नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशन सिंहले लगत्तै एसिया कप पनि खेल्नुपर्ने भएकाले त्यसको तयारीका लागि नेपालले सिनियर टिम नै पठाएको बताए ।
एशिया कप क्रिकेट प्रतियोगिता हुनुभन्दा दुई महिनाअघि हुन लागेकाले इमर्जिङ कपलाई नेपालले एशिया कपकै तयारीका रुपमा लिएको छ ।
कप्तान रोहितकुमार पौडेलले पनि इमर्जिङ कप एसिया कपको तयारीको राम्रो अवसर भएको बताए ।
नेपालसँग खेल्ने टिममा इण्डियन प्रिमियर लिग आईपीएल र भारत तथा पाकिस्तानका घरेलु प्रतियोगिता खेलेका खेलाडी छन् ।