चलचित्र हिरोजको च्यारिटीमा रक्षामन्त्रीको प्रतिबद्धता

सहयात्रा टिभी

काठमाडौं । झापाका १ सय ५० बाढीपिडित परिवारलाई राहत सहयोग गर्न चलचित्र हिरोजको च्यारिटी शो गरिएको छ । काठमाडौं, बौद्धस्थित सिद्धार्थ चलचित्र हलमा शनिबार चलचित्र हिरोजको च्यारिटी शो गरिएको हो ।

रक्षामन्त्री भिमसेन दास प्रधानको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा आबद्ध व्यक्तित्व एवं समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

मन्त्री प्रधानले बाढीपहिरोलगायतका प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई कम गर्न सरकारले विशेष योजनाका साथ जोखिमयुक्त क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो । यसका साथै थप योजनाहरु पनि कार्यान्वयनको चरणमा रहेको उहाँको भनाइ थियो । चलचित्र क्षेत्रले मनोरञ्जनमात्रै नभइ सामाजिक कार्यमा पनि काम गर्न सक्छ भन्ने उदाहरण यस्ता कार्यबाट पुष्टि भएको भन्दै उहाँले आफुले सकेको सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

च्यारिटी शो पूर्व आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरुले चलचित्र हिरोजको टिमले गरेको समाज सेवाको अभियानमा साथ सहयोग रहेने बताउँदै चलचित्रको सफलताका लागि शुभकामना व्यक्त गरे ।

जयलक्ष्मी फिल्मस् प्रालि तथा फेथ नेपालको अगुवाइमा झापा जिल्लाको झापा गाउँपालिका वडा नम्बर २, बढागाउँका १ सय ५० घरपरिवारलाई जाडोमा न्यानो प्रदान गर्न कम्बल वितरणका लागि यो कार्यक्रम आयोजना गरिएको चलचित्रकी नायिका पूर्णिमा लामाले बताउनुभयो ।

जय लक्ष्मी फिल्मस् प्रालि तथा फेथ नेपालको अध्यक्षसमेत रहनु भएकी नायिका लामाले च्यारिटी शोबाट संकलित रकमबाट कम्बल खरिद गरी चाँडै नै बाढीपीडित परिवारलाई वितरण गर्ने जानकारी दिनु भयो ।

बाढीपीडितहरुले चार महिना बितिसक्दा पनि अझै सरकारले प्रतिबद्धता गरेअनुसारको सहयोग नपाएकोमा गुनासो गर्दै आफुहरुले सकेसम्म थप सहयोगका लागि पनि पहल गरिरहेको कार्यक्रमका संयोजक एवं कलाकार बसन्त तामाङले जानकारी दिनुभयो ।

कार्यक्रममा चलचित्रका कलाकारहरुकोसमेत उपस्थिति रहेको थियो । एनबी महर्जनको निर्देशन रहेको चलचित्रमा पूर्णिमाका साथै संजोग राणा, मुकेश ढकाल, करिश्मा मानन्धर, जय किशन बस्नेत, दिल कृष्ण श्रेष्ठ लगायतका कलाकारहरुको प्रमुख अभिनय रहेको छ ।

चलचित्रमा सञ्जोग राणाको कथा, शंकर महर्जनको द्वन्द्व, शिव ढकाल, रामशरण उप्रेतीको छायाँङ्कन र कृष्ण आचार्यको स्क्रिनप्ले रहेको छ ।

प्रकाशित : 19 November, 2017

प्रतिक्रिया दिनुहोस्