‘हेभीवेट’ उम्मेद्वारका कारण रोचक बन्दै नवलपरासीको भिडन्त

सहयात्रा टिभी

नवलपरासी । हेभीवेट उम्मेद्वारका कारण प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन नवलपरासीमा रोचक बन्ने देखिएको छ ।
दोस्रो चरणमा हुने निर्वाचनको मिति नजिकिएसँग यहाँको राजनीतिक माहौल गर्मिएको छ । प्रदेश नम्बर–४ र प्रदेश नम्बर–५ मा विभाजित नवलपरासीका दुई वटा जिल्लामै उम्मेद्वार यतिबेला मतदातालाई आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वार मतदातालाई विभिन्न भेला, सभा, घरदैलोलगायतका चुनावी प्रचार–प्रसार कार्यक्रममार्फत रिझाउन व्यस्त छन् । यस पटक पनि अधिकांश उम्मेद्रवाहरु पुरानै अनुहारका छन् भने केही नयाँ अनुहार चुनाबी मैदानमा छन् । यहाँ विशेष गरी नेपाली कांग्रेस र वाम गठबन्धनबीच कडा टक्कर देखिएको छ । नवलपरासीका दुई जिल्लामा प्रतिनिधिसभातर्फ चार वटा र प्रदेशसभातर्फ आठ वटा निर्वाचन क्षेत्र छन् । यस पटकको निर्वाचनमा पनि नवलपरासीबाट केही शीर्ष दलका शीर्ष नेताहरु चुनावी मैदानमा रहेकाले पनि यहाँको भिडन्तलाई चासो दिइएको पाइन्छ । कांग्रेसका महामन्त्री डां सशांक कोइराला नवलपरासी (बर्दघाट सुस्ता) पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं. १ बाट चुनावी प्रतिष्पर्धामा छन् ।

कोइराला ०६४ र ०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसद समेत हुन् । सो निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट माओवादी केन्द्र पोलिटब्यूरो सदस्य नेता भविश्वर पराजुली मुख्य प्रतिष्पर्धीका रुपमा छन् ।

यसैगरी स्वतन्त्र राजनीतिक समूहका अगुवा र पूर्वमन्त्री नेता हृदयेश त्रिपाठी वाम गठबन्धनका तर्फबाट नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं १ बाट चुनावी मैदानमा छन् । सो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका नेता देवकरणप्रसाद कलवार मुख्य प्रतिष्पर्धीका रुपमा छन् । कलवार ०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसद समेत हुन् ।
यसैगरी पूर्व गृह राज्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेल नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं २ बाट चुनावी मैदानमा छन् ।

सो निर्वाचन क्षेत्रमा पूर्व स्थानीय विकास राज्यमन्त्री एवम् माओवादी केन्द्रका नेता घनश्याम यादव मुख्य प्रतिष्पर्धीका रुपमा छन् । नवलपरासी जिल्ला दुई जिल्लामा विभाजनपछि बर्दघाट सुस्ता पश्चिम नवलपरासी र बर्दघाट सुस्ता पूर्व नवलपरासीमा गरी प्रतिनिधिसभाका लागि चार वटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेशसभाका लागि आठ निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश नं ४ र ५ नं प्रदेशमा विभाजित नवलपरासीका दुई जिल्लामा आसन्न प्रदेशसभा र प्रतिनिधिसभाका लागि कूल चार लाख २९ हजार ८९४ जना मतदाता छन् ।

 

प्रकाशित : 19 November, 2017

प्रतिक्रिया दिनुहोस्