खाँणमाथि राज्यले ठूलो अन्याय गर्यो : सहमहामन्त्री यादव

काठमाडौँ । साउन ७, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टीका नेता बालकृष्ण खाँणमाथि राज्यले ठूलो अन्याय गरेको बताएका छन् ।
आइतबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले खाँणलाई राज्यले फसाएको बताए ।
‘हाम्रो आदरणीय नेता, नेपाली कांग्रेसका जुझारु नेता बालकृष्ण खाँणलाई राज्यले फसाएको छ, उहाँमाथि राज्यले ठूलो अन्याय गरेको छ ।
अहिलेसम्मको अनुसन्धानबाट न कुनै जाहेरी छ, न उहाँलाई कसैले पोलेको छ, न कुनै प्रमाण भेटिएको छ’ उनले भने, ‘तर थप मुद्दा राजद्रोह पनि लगाइएको छ । ठगी मुद्दामा राजद्रोह लगाउृने हो भने दिनमा १०÷२० वटा राजद्रोहको मुद्दा लाग्छ ।’
सहमहामन्त्री यादवले खाँणमाथि अभियोगमात्र लागेको तर प्रमाणित नभएकाले कसुरदारजस्तो व्यवहार गर्न नहुने बताए ।
खाँणले पार्टीका नेता कार्यकर्ताको धेरै संरक्षण गरेको भन्दै यादवले उनलाई दुख पर्दा सहयोग गर्नुपर्ने बताए । उनले अदालतले खाँणलाई निर्दोष सावित गर्ने आशा पनि व्यक्त गरे ।