‘चुनाव आयो भन्छन्, उम्मेद्वारको अनुहारसम्म थाहा छैन’

सहयात्रा टिभी

ओखलढुङ्गा । चुनावको तयार हुँदादेखि नै रेडियो, टिभीहरुले ‘हाम्रालाई होइन राम्रालाई भोट हालौं’ भनेर बारम्बार बजाइरहेका छन् । तर ओखलढुङ्गाका सर्वसाधरणले भने चुनाव आउन लाग्दा समेत आफूले भोट हाल्नु पर्ने उम्मेद्वारको मुखसम्म देख्न नपाएको गुनासो गरिरहेका छन् ।

अन्य सुगम जिल्लामा उम्मेद्वारहरु घरदैलो गर्दै भोट माग्न हिंडिरहेका छन् । ओखलढुङ्गाका दुर्गम गाउँमा भने जनताले उम्मेद्वारको अनुहार नै नदेखी मत हाल्नुपर्ने बाध्यता रहेको छ । भौगोलिक विकटता र यातायात असुविधाका कारण मतदाताले उम्मेद्वारको अनुहार नै नदेखी मत हाल्नुपर्ने बाध्यता ओखलढुङ्गाका अधिकांश ठाउँहरुमा रहेको छ । चुनावको मिति नजिकिंदै गर्दा दलहरूले केही ठाउँमा चुनावीसभा र घरदैलो कार्यक्रम गरे पनि दुर्गम गाउँमा भने चुनावको चहलपहल नै भएको छैन ।

‘गाउँमा कतै कतै राजनीनितक दलका कार्यक्रम हुन्छन रे तर हाम्रो ठाउँमा त नेताका अनुहार कसैले देख्न पाएका छैनौं’–लिखु गाउँपालिका–९ का रामबहादुर तामाङले भने–‘हामीले नै भोट हाल्नुपर्ने, नेताका कुरा सुन्न र अनुहार देख्न नपाउँदा दुःख लाग्छ ।’– ‘पार्टी र उम्मेद्वारको नाम सुनिन्छ तर भेट हुने छाँट छैन’–सुनकोसी गाउँपालिका ३ सिस्नेरीकी राममाया राईले गुनासो गरिन् । उनी यस पटक उम्मेद्वार गाउँ आए भने गाउँको विकास गर्न अनुरोध गर्न नपाई भोट हाल्नुपर्ने बाध्यता हटाउने योजनाबारे सोध्ने योजनामा सुरसारमा छिन् । अप्ठ्यारो भूगोल र यातायात नहुँदा समस्या ओखलढुङ्गाका अधिकांश ठाउँमा चुनावी प्रचारप्रसारमा राजनीतिक दलका नेता–कार्यकर्ता र उम्मेद्वार पुग्ने अवस्था छैन । अप्ठ्यारो भूगोल र यातायात असुविधाका कारण सबै मतदातासँग भेट्ने चाहना पूरा नहुने वाम गठबन्धनका तर्फबाट प्रदेशसभा ‘ख’ का साझा उम्मेद्वार माओवादी केन्द्रका मोहनकुमार खड्काले बताए । उनले भने–‘सबै मतदाताको भावना बुझ्न सकियोस् भन्ने हो तर बाध्यता छ, त्यो सम्भव छैन तर सबै जनताको चाहना र भावनाको प्रतिनिधित्व गर्ने मेरो प्रतिबद्धता हो ।’

‘चाहेर पनि सबै ठाउँमा पुग्न सम्भव नभएको, सकेसम्म हरेक मतदाताको घरदैलोमा पुगेर मत माग्ने मन हुँदाहुँदै पनि सबै ठाउँमा पुग्न नसकेपछि कार्यकर्ता परिचालन गरेका हौ’–नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रामहरि खतिवडाले भने । कांग्रेस र वाम गठबन्धनबीच प्रतिष्पर्धा १० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचनमा वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनको प्रतिष्पर्धा देखिएको छ । स्थानीय तहको निर्वाचनको दलहरूले प्राप्त गरेको मतका आधारमा ओखलढुङ्गामा वाम गठबन्धन बलियो देखिएको छ । आठ स्थानीय तहमध्ये चार वटा वाम गठबन्धनले जितेको छ भने चार वटामै कांग्रेसले जितेको छ । प्रतिनिधिसभाका लागि वाम गठबन्धन तथा लोकतान्त्रिक गठबन्धनबाट राष्ट्रिय राजनीतिक छवि बनाएका यज्ञराज सुनुवार र रामहरि खतिवडा चुनावी मैदानमा छन् । ओखलढुंगामा स्थानीय तहको चुनावका आधारमा जिल्लामा कांग्रेसको २६ हजार १ सय ३६, एमालेको २३ हजार ८ सय ३५, माओवादीले ९ हजार ६ सय ८६ मत स्थानीय चुनावमा पाएको छ । एमाले र माओवादीको मत जोड्दा ३३ हजार ५ सय ३१ हुन्छ । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा ओखलढुङ्गा १ बाट सुनुवार र २ बाट निर्वाचित खतिवडा अहिले एउटै क्षेत्रमा एकअर्काको प्रतिष्पर्धी बनेका छन् ।

संघीयसभामा ओखलढुङ्गाबाट संघीय समाजवादी फोरमका जुद्ध ढाक्रे, संघीय खुम्वुवान लोकतान्त्रिकका चन्द्र विक्रम राई, नयाँ शक्तिका प्रभुराम श्रेष्ठ, मंगोल नेसनल अगनाइजेसनका बजेन्द्र राई, देशभक्त गणतन्त्रिक मोर्चाका रुद्रकुमार फुँयाल, नेकपा मालेका केशव रम्तेल र जनमोर्चाका कुन्तादेवी खत्री चुनावी मैदानमा छन् । प्रदेशसभातर्फ वाम गठबन्धनबाट प्रदेश (क) मा एमालेका अम्बीरबाबु गुरुङ र कांग्रेसका तर्फबाट मित्रसेन दाहाल, नयाँ शक्तिका खेमराज खड्का, संघीय समाजवादी फोरमका नेत्रबहादुर नेम्वाङ, मंगोल नेसनल अगनाइजेसनका कानुरी शेर्पा, जनमोर्चाका सन्जमाया राई र देशभक्त गणतान्त्रिक मोर्चाका तेन्जिङ शेर्पा रहेका छन् । प्रदेशसभातर्फ वाम गठबन्धनबाट प्रदेश (ख) माओवादी केन्द्रका मोहनकुमार खड्का कांग्रेसका तर्फबाट प्रदीपकुमार सुनुवार, कांगे्रसका विद्रोही ज्ञानेन्द्र रुम्दाली, नयाँ शक्तिका टंकनाथ अधिकारी, संघीय समाजवादी फोरमका दिनेशकुमार राई र देशभक्त गणतान्त्रिक मोर्चाका विष्णु खड्का चुनावी प्रतिष्पर्धामा छन् ।

प्रकाशित : 21 November, 2017

प्रतिक्रिया दिनुहोस्